सामाजिक सञ्जालमा निकै भाइरल बनेको यो तस्बिर तपाइँले पक्कै पनि देख्नुभएको होला । अथवा कसैले तपाइँलाई आइक्यूमा सोधेको पनि हुनसक्छ । सायद केहीबेर दिमाग पनि खियानुभयो कि ? के यस्तो अवस्थामा यो युवक बाँच्ने उपाय भेट्नुभयो त ? ….ऽऽ, छैन ? त्यसोभए आउनुस्, हामी एउटा बाटो देखाउँछौँ । यो उपाय अपनाएर युवक बाँच्नसक्छ, र यो नै यस प्रश्नको उत्तर पनि हो ।
जताततै मृत्युको भय!
यो तस्बिर हेर्नुहोस् । यहाँ ठूलो जलासयको किनारमा एउटा रुख छ । जसलाई आधा काटिएको छ । त्यो रुखको एउटा हाँगो पानीभन्दा माथि छ । त्यो पनि आधा भाँचिएको छ । त्यसमा एक युवक झुण्डिएको छ । त्यसको सिधा तल दुईवटा गोही आहाराको आशमा आँऽऽऽऽ! गरेर बसेका छन् । रुखको फेदमा एउटा सिंह छ । साथै रुखमा पनि एउटा सर्प छ । जसले युवकलाई नै ताकिरहेको छ ।
अब यहाँ युवक बाँच्न सक्ने आधार खोज्नुहोस् । पानीमा हाम्फाल्दा गोहीको मुखमा । रुखमा झुण्डिराख्दा पहिलो कुरा त आधा भाँचिएको हाँगोले धेरैबेर धान्दैन, दोस्रो त्यहाँ पनि नजिकै रहेको सर्पले डस्ने खतरा छ । रुखको फेदमा झर्ने हो भने, सिंहले आहारका लागि कुरेर बसेको छ । त्यसमाथि रुख आफैँमा आधा काटिएको छ, कुनबेला ढल्ने पत्तो छैन ।
जुनसुकै विकल्प रोज्दा पनि मृत्युको भय । यदि तपाइँ यस्तो ठाउँमा हुनुभयो भने के गर्नुहोला ? सायद सोच्न पनि सकिन्न । तर, हरेस नखानुस्, यहाँ पनि छ एउटा विकल्प ।
यहीमात्र हो बाँच्ने विकल्प!
खासमा यो तस्बिरले अब जिउन कुनै सहारा र विकल्प नै बाँकी छैन भन्ने झल्को दिन्छ । तर यो तस्बिरमा पनि मानिसहरुले बाँच्ने आधार खोजेका छन् । ‘तपाइँ यस्तो अवस्थामा हुनुभयो भने कसरी बाँच्नुहुन्छ ?’ भनेर यो तस्बिरलाई IQ को रुपमा नै बढी प्रयोग गर्ने गरिएको छ ।
नेपालमा समेत चर्चित एउटा हिन्दी उखान छ, ‘मरता, क्या नही करता!’ वास्तवमा हो पनि, मृत्युको मुखमा पुगेको झल्को मिल्यो भने मान्छेले बाँच्नका लागि जस्तोसुकै कठिन चुनौती पनि सामना गर्ने हिम्मत राख्छ ।
दशौं तले बिल्डिङमा आगो लाग्यो भने मानिस त्यहीँबाट हाम्फाल्न पनि तयार हुन्छ । यहाँ पनि एउटा त्यस्तै विकल्प बचेको छ ।
यसरी बाँच्न सक्छ युवक:
यसका लागि युवकले केही चलाखीपूर्ण स्टेपहरु चाल्नुपर्छ । पहिला उसले दायाँ हात हाँगोबाट निकालेर बाँया हातको सहाराले मात्र केही समय झुण्डिनुपर्ने हुन्छ । यस अवधीमा आफ्नो दायाँ हातले नजिकै रहेको सर्पको टाउकोमा समातेर आफूतिर तान्ने । टाउकोमा समाएको सर्पले मानिसलाई केही गर्न सक्दैन ।
त्यसपछि सर्पलाई सिंह भएको ठाउँमा फाल्ने । आफूतिर केही खतरा आएको बुझेर सिंहको ध्यान सर्प र सर्पको सिंहतिर जान्छ । त्यसपछि निमेषभरको समय सदुपयोग गर्दै रुखको फेदमा हामफाल्ने । त्यहाँ रुख काटेर छाडेको बन्चरो फेदैमा राखिएको छ ।
त्यसको सहायतामा सिंहलाई आक्रमण गर्ने । हातमा एउटा बञ्चरो लिएर सिंहसँग चलाखीपूर्ण लडाइँ लड्ने हो भने मानिसले सहजै जित्नसक्छ । सिंह त पन्छिहाल्यो । गोही पानीबाट सकेसम्म त बाहिर नै आउँदैन, आइहाले पनि उसलाई केही समय लाग्छ । त्यतिबेलासम्म सिंह र युवकको लडाइँ वार कि पार भइसकेको हुन्छ ।
अर्को चुनौती सर्प त भागिनै हाल्छ, किनकी उसका लागि सिंह र मानिस दुवै ठूला चुनौती हुन् । युवकले सिंहलाई ढालेपछि गोहीको आहाराका लागि छाडिदिएर त्यहाँबाट निस्किन सक्छ । यो नै यहाँ बाँच्ने एकमात्र विकल्प हो ।
त्यसो त विकल्पहरु मानिसको व्यक्तिगत क्षमता र दिमागमा भर पर्छ । अझै गहिरिएर हेर्नुस्, अर्को कुनै विकल्प पो भेटिहाल्नुहुन्छ कि !
