भरतपुर । चितवनमा डेंगुबाट ३६७ जना बिरामी परेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको भदौको अन्तिम साताबाट कात्तिक ५ गतेसम्मको तथ्याङ्क हेर्दा चितवनमा डेंगुको संक्रमण फैलिने क्रम रोकिएको छैन । ३६७ मध्ये रत्ननगर नगरपालिकामा मात्रै ८० प्रतिशत भन्दा बढी संक्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिए ।

डेंगु नियन्त्रणका लागि विभिन्न प्रयासहरु भइरहँदा पनि डेंगुले माहामारीको रुप लिने खतरामा पुगेको उनले बताए । केही समयअघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको केन्द्रीय विभागबाट समेत एक टोली चितवन आएर डेंगुबारे अनुसन्धान गरेका थिए ।
यसरी पटक–पटक सरोकारवाला निकायहरुबाट नियन्त्रणको प्रयास भइरहे पनि नियन्त्रणमा आउन नसक्दा प्रभावित क्षेत्रका बासिन्दामा झनै त्रास फैलिएको छ । ‘रत्ननगरको २ र ८ नं. वडा बढी प्रभावित भएपनि नगरपालिकाका १३ वटै वटामा नियन्त्रणका प्रयासहरु भइरहेका छन्,’ जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक केसीले भने, ‘खैरहनी नगरपालिकाका संभावित क्षेत्रहरुमा पनि डेंगु फैलाउने लामदखुट्टेको बासस्थानको खोजी गरी नष्ट गर्ने काम भइरहेको छ ।’


लामखुट्टेको वृद्धि विकासलाई रोक्नका लागि रोग नियन्त्रण महाशाखाबाटै लार्भा खोज र नष्ट अभियान चलाइएको थियो । केही दिनअघि मात्रै कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाको टोलीले डेंगु फैलाउने एडिस एजिप्टाई जातको लामखुट्टे छ कि छैन भन्ने पत्ता लगाउनका लागि रत्ननगर क्षेत्रमा आएर लामखुट्टे र लार्भा संकलन गरेर लगेका केसीले जानकारी दिए ।


जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले कात्तिक ५ गते नै पत्रकारहरुसँग अन्तिक्र्रिया गरी जिल्लामा २७२ जनामा डेंगुको संक्रमण भएको पुष्टि भएको जानकारी गराएको थियो । जसमध्ये रत्ननगर नगरपालिकामा मात्रै २२२ जनामा डेंगु पुष्टि भएको बताइएको थियो । तर, अहिलेसम्म कतिजनामा डेंगुको परीक्षण गराइएको हो भन्नेबारे भने तथ्यांक आइनसकेको जनस्वास्थ्यले जनाएको छ ।
रत्ननगरका सबै विद्यालय बन्द
रत्ननगर नगरपालिका क्षेत्रमा डेंगोको प्रकोप बढ्दै गएपछि नगरपालिकाभित्रका प्राय सबै विद्यालयहरु बन्द भएका छन् ।


डेंगुका कारण विद्यार्थीहरु बिरामी भएको र बिरामी नभएका विद्यार्थीहरुलाई पनि अभिभावकले पठाउन नमानेपछि विद्यालय स्रोत केन्द्र, शिक्षक, अभिभावकलगायत सरोकारवालाहरुबीच छलफल गरी केही दिनका लागि विद्यालय बन्द गरिएको जिल्ला शिक्षा कार्यालय चितवनले जनाएको छ । सबै सरकारी विद्यालयले पाउने हिउँदे र वर्षे गरी ४५ दिन र ५ दिन स्थानीय बिदासहित ५० दिनभित्र समायोजन हुने गरी विद्यालय बन्द गराएको जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालले जानकारी दिए ।


दसैं बिदापछि बन्द रहेका बोर्डिङ स्कुलहरु तिहारपछि मात्रै खुल्ने हुँदा सरकारी स्कुल मात्रै बिदा गरिएको हो । विद्यार्थीहरुमा रोगको संक्रमण बढ्न नदिनका लागि नेपाल मावि, स्काइराइडर आवासिय माविलगायतका विद्यालयहरु बन्द गरिएको कार्यालयले जनाएको छ
 
Top