काठमाडौं– पूर्व राजा ज्ञानेन्द्र शाह आइतबार बिहान पूजाआजाका लागि भन्दै काठमाडौंको वसन्तपुरस्थित पचली भैरव र गणेश मन्दिर पुगेका छन् ।

उनी त्यहाँ पुग्दा सर्वसाधारणको भीडका कारण प्रहरीलाई वसन्तपुर क्षेत्रमा सुरक्षा व्यवस्था मिलाउन निकै हम्मेहम्मे परेको थियो ।
पूर्वराजा शाहलाई माला र पुष्पगुच्छा दिन वसन्तपुर क्षेत्रमा पंचकन्या र महिलाहरुलाई लाइन लगाएर राखिएको थियो ।

तर सर्वसाधारणको भीड बढेपछि शुभेच्छुकहरुका हातबाट माला र पुष्पगुच्छा लिन पूर्वराजा शाहले समेत सास्ती बेहोर्नु परेको थियो ।
आफ्नो समर्थनमा शुभेच्छुकहरुको भीड लागेपछि हर्षित मुद्रामा देखिएका पूर्वराजा शाहले पचली भैरव र गणेश मन्दिरमा एक घण्टा लगाएर पूर्जाआजा गरे ।
पूजाआजापछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै शाहले देशमा शान्ति र स्थिरता होस् तथा सबै देशवासीको मनमा खुशी छाओस् भनेर प्रार्थना गरेको बताए ।

दशैंअवधिमा पूर्वराजा शाहले दशैंभर शक्तिपीठहरुमा पूजाआजा गर्ने कार्यक्रम रहेको उनका सहयोगीहरुले बताएका छन् ।
 
Top