गोवा। भारतको गोवामा भइरहेको ब्रिक्स सम्मेलनमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सि जिन पिङबीच औपचारिक र अनौपचारिक भेटवार्ता भएको छ । औपचारिक भेटवार्तामा दुई देशका सरकार प्रमुखका साथै सरकारी प्रतिनिधि सहभागी थिए ।
शनिबार राति चिनियाँ राष्ट्रपति सि जिन पिङ र प्रधानमन्त्री प्रचण्डबीच अनौपचारिक भेटवार्ताका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी भएका छन् । दुई देशका शीर्ष नेताका क्रममा भारतका प्रधानमन्त्री मोदी पनि प्रवेश गरेपछि भेटवार्ता त्रिपक्षीय हुन पुगेको थियो ।
तीन देशका सरकार प्रमुखबीच करिब २० मिनेट भेटवार्ता भएको प्रधानमन्त्री प्रचण्डका छोरा प्रकाश दाहालले जानकारी दिएका छन् । सो भेटमा प्रचण्ड पत्नी सीता दाहाल पनि सहभागी थिइन् । प्रचण्डसँगको भेटवार्तामा चिनियाँ राष्ट्रपतिले आफू छिट्टै नेपाल आउने जानकारी गराएको र दुई देशको सम्बन्धबारे खुलस्त छलफल भएको प्रकाश दाहालले उल्लेख गरेका छन् ।
चिनियाँ राष्ट्रपति सि, भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री प्रचण्डबीच भएको संयुक्त भेटमा त्रिदेशीय हितका कुरा भएको थियो । प्रधानमन्त्री प्रचण्डले नेपाल सानो मुलुक भए पनि पशुपति र बुद्ध जन्मस्थानले तीन देशलाई जोडेको बताएका थिए । चीन र भारतबीच त्यति राम्रो सम्बन्ध छैन । नेपालका प्रधानमन्त्रीसहितको भेटवार्तामा चीन र भारतका सरकार प्रमुख सहभागी भई छलफल हुुनुलाई कूटनीतिक क्षेत्रमा सकारात्मक मानिएको छ ।
