लुटिएका सोझा कामदारहरुलाई उल्टै प्रहरी र प्रशासनले धम्काए
काठमाडौं : शुक्रबार साझ फ्लाई दुबईको उडानबाट सप्तरीका दिनेश शाहा तीन बर्षपछि साउदीबाट आफ्नो देश आउदैं थिए । साउदीको जेलबाट सिधैं नेपाल आउन पाउँदा उनी निकै खुसी थिए उनी । साथमा पैसा त थिएन । थिए त केही नयाँ कपडा र मोवाइल । परिवारका प्रियजन र आफन्तका लागि केही नयाँ कपडा बोकेर साउदीबाट नेपाल आउदैं गर्दा शाहा कम्ती खुसी थिएनन् । भन्छन्,‘कतिबेला विमानस्थलमा ओर्लिएर घर जाऔं जस्तो भएको थियो ।’
फ्लाई दुबईको उडानबाट शुक्रबार राती करिब ९ : ४५ बजे अन्तराष्ट्रिय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गर्दा खुसीले फुरुङ्ग भए उनी । उनलाई लाग्यो, ‘अब केही हुदैन, आफ्नो देश आइपुगेँ ।’ तर, बिडम्बना जब विमानस्थलमा एक घन्टा कुरेपछि ‘लगेज’हरु आइपुग्यो, उनको खुसी टिक्न सकेन । साउदीमा पोका पारेका खुसीहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खोसिएको जब थाहा पाए, उनले आँशु रोक्न सकेनन् । शनिबार साँझ नयाँ पेजसँग भने, ‘हाम्रो लगेजमा भएका मोवाइल र नयाँ कपडा सबै चोरिएछ ।’
हेर्नुहोस् भिडियो :-
शुक्रबार शाहा सहित २० जना नेपालीहरु साउदीबाट नेपाल आएका थिए । उनीहरु मध्ये १८ जनाको २५ वटा मोवाइल सेट र नयाँ कपडाहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलममै हराएको हो । दाङका तिलकबहादुरयोगीका अनुसार प्लेनबाट ‘लगेज’ आउन करिब एक घन्टा लाग्यो । एक घन्टामा पनि सबैको एकैसाथ आएनन् । एउटा–एउटा ‘लगेज’ आयो । त्यही पनि ‘प्याक’ गरिएको ‘लगेज’ सबै खोलिएको अवस्थामा थियो । उनले भने, ‘शंका लागेर खोलेर हेरेको सबै सामान निकालिएको रहेछ ।’
त्यसपछि उनीहरुले तुरुन्तै प्रहरी र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको प्रशासनमा उजुरी गरे । फ्लाई दुबईको कार्यालयमा उजुरी गरे । केही कर्मचारीहरु आएर छानविन गर्ने आश्वसन दिए । तर, शुक्रबार राती अबेर भएको भन्दै ‘भोली आउनु’ भनेर पठाए । उनीहरुले ‘आजै छानविन गरीदिनुहोस्’ भनेर माग गर्दा उल्टै हप्काएर पठाए । योगी भन्छन्,‘तिमिहरु अबैधानिक रुपमा आएकाहरुले ठुलो कुरा नगर भन्दै हामीलाई नै धम्काए ।’
हेर्नुहोस् भिडियो :-
किन परेका थिए जेल ?
उनीहरु सबै साउदीको जेलबाट सिधैं नेपाल आएका थिए । उनीहरु सबैलाई मेनपावर कम्पनीले आकर्षक तलब लोभ देखाएर साउदी पठाएका थिए । तर, कम्पनीले भने अनुसारको तलब नदिएपछि सबैजना भागेर काम गरे । साउदीमा भागेर काम गर्नेहरुको लागि कडा नियम बनेपछि उनीहरु आफै प्रहरी कहाँ पुगेँ । प्रहरीले एक महिना अनुसन्धानको लागि राखेर नेपाल फिर्ता पठाइदिएका थिए । योगीका अनुसार असुरक्षा बढेपछि उनीहरु आफै प्रहरीको शरणमा पुगेका थिए । ‘भागेर काम गर्नेहरुलाई असुरक्षा भएपछि हामी आफैँ पक्राउ परेका हौं,’ उनले भने, ‘त्यसपछि एक महिना अनुसन्धान गरेर हामीलाई फिर्ता पठाइएको हो ।’
लुटिएपछिको सास्ती
अन्तराष्ट्रिय त्रिभुवन विमानस्थलमा शुक्रबार सामान हराएपछि त्यो दिन उनीहरुको कुनै सुनवाई भएन । भोली आउनु भनेर प्रहरी र विमानस्थलका कर्मचारीहरुले पठाइदिए । उनीहरु सबै हिड्दै गएर गौशलाको एक होटलमा बसे । विरानो देशको जेलबाट निस्केर आफ्नो देश आइपुग्नुको खुसी त थियो नै । तर, प्रियजनहरुको लागि बोकेर ल्याएको सामान हराउदा उनीहरुलाई रातभरी निद्रा लागेन । शाहा भन्छन्, ‘चिन्ताले सुत्नै सकेनौं ।’
उनीहरु फेरि बिहानै विमानस्थल पुगे । कहाँ, कसलाई भन्ने ? उनीहरुलाई केही थाहा भएन । फ्लाई दुबईको कर्मचारीहरुले विमानस्थल प्रशासनतिर पठाए । विमानस्थलकाले फ्लाई दुबईको कार्यालयमा । कर्मचारीहरुले कुनै सुनुवाई गरेनन् । प्रहरीले पनि कुरै सुनेनन् । करिब दिउँसो ४ बजेसम्म दौडधुप गर्दा पनि नसुनेपछि उनीहरुले खोलिएको झोला राखेर विमानस्थल अघि धर्ना दिन सुरु गरे । हल्लाखल्ला भयो ।
केही टेलिभिजनका पत्रकारहरु पुगेँ । यसपछि मात्रै त्रिभुवन विमानस्थलका कर्मचारीहरुले चासो दिए । तर, छानविन गर्ने ‘आश्वसन’ बाहेक शनिबार पनि उनीहरुले केही पाएनन् । शनिबार राती अबेरसम्म विमानस्थलमा बसेर उनीहरु फर्किए । फेरि उनीहरु आइतबार बिहान विमानस्थल पुगे । सधैं झै छानविन भइरहेको भन्दै बढी हल्ला नगर्न उल्टो धम्की दिए । उनीहरुले एक साथ भने,‘बढी हल्ला गरेको ठिक हुदैन ।’
विमानस्थलका कर्मचारीहरुले लगेजमा भएको सामान नेपालमा चोरी नभएको दाबी गरेका योगीले बताए । उनले भने, ‘यो समान नेपालमा चोरी भएको होइन भन्नुहुन्छ, तर हामीले प्याक गरेर हालेको सामन यहाँ नभएर कहाँ चोरी भयो त ?’ आइतबार नयाँ पेजले विमानस्थलका कर्मचारी र प्रहरीसँग यो बिषयमा प्रश्न राख्दा उनीहरु कोही पनि बोल्न चाहेनन् । विमानस्थलभित्र रहेका कर्मचारीहरुलाई भेट्न खोज्दा डियुटीमा रहेका प्रहरीले भित्र जान नदिनु भनेर फर्काए ।
