‘फोन गर्दा मालिकले मार्छ’ भनेकी अस्मिताको फोन नआएको २० महिना भयो
कात्तिक ११ – निलकण्ठ–२ धादिङका सानोबाबु पौडेलको पेसा कृषि । उहाँ दिनभरी खेतबारीमै व्यस्त हुनुहुन्छ । मेलापात सकेर बेलुकीपख घर फर्किएर छोराहरु स्कू्ल गएकी गएनन्, पढेकी पढेनन् छोराहरुलाई सोध्नुहुन्छ । केही समय छोराहरुसँगै बस्नुहुन्छ । अनि खाना खाएर सुत्न जानुहुन्छ । दिन त जेनतेन बिते पनि रात छटपटीमै बित्छ । कारण श्रीमती अस्मिताले फोन नगरेको २० महिना भयो ।
अस्मिता चार वर्षअघि २०६९ पुसमा कुबेत जानुभएको थियो । जाँदाको वाचा त दुई वर्षमा घर फर्किने थियो । त्यही भएर पोहोरकै दसैँमा अस्मिता आउलिन् भन्ने आशा थियो सानोबाबुलाई तर उहाँ आउनुभएन । फोन गर्न छोड्नु अघि अस्मिताले पठाएकै पैसाले भैंसी किन्नुभएको थियो सानुबाबुले ।
त्यही भएर यो पल्टको दसैँमा त श्रीमती पक्कै आउँछिन् भन्ने आशा राख्नुभएको थियो उहाँले । तर यो वर्षका चाडबाड पछिल्ला चार वर्षका जस्तै खल्लो भयो । ‘घरको काम धेरै गाह्रो छ त्यै माथि साहुले फोन गरेको देखें भने मार्छु भन्छ भन्थी’ मलिन अनुहार पार्दै सानुबाबुले श्रीमतीको फोन नआउनुको कारण खुलाउनुभयो ।
सानुबाबुका दुई छोरा छन् । उहाँले दुई छोरालाई पढाउनु छ अनि खेतीपातीले खर्च धान्न गाह्रो छ । जेठो छोरा आठमा पढ्छन् अनि कान्छो चाहिँ कक्षा ४ मा । अस्मिता विदेश जाने बेलामा दुवै छोरो सानै थिए । त्यसैले सानुबाबुलाई श्रीमतीलाई विदेश पठाउने मन थिएन । अनि आफू घरमा बसेर किन उहाँलाई चाहिँ पठाउनुभएको त ? प्रश्न गर्न नभ्याउँदै सानुबाबुले समस्या सुनाउनुभयो ‘के गर्नु आफू रोगी भएपछि ।’
खेतीपातीले घर धान्न गाह्रो भएपछि सुरुमा त सानुबाबु आफै विदेश जान खोज्नुभयो । म्यानपावरमा पासर्पोट बुझाउनुभयो अनि तीन पटकसम्म मेडिकल (स्वास्थ्य परीक्षण) पनि गर्नुभयो । तर तीनै पटक छातीमा दाग देखियो । उहाँ जान नपाउने भएपछि नै अस्मिताले म जान्छु भन्दै जिद्दी गर्नुभयो ।
अनि राजु केसी भन्ने एजेन्टलाई पासर्पोट पनि बुझाउनुभयो । तर श्रीमतीलाई विदेश पठाउन लागेको भन्दै छिमेक र साथीले गाली मात्रै गरेनन् नामर्द भनेर गिज्याए पनि । त्यसैले सानुबाबुले श्रीमतीको भिसा लाग्दा पनि रोकिदिनुभयो एकपटक त । ‘तर के गर्नु घरको खर्च टार्न र बच्चा पढाउन गाह्रो भएपछि मैले रोक्न सकिन दोस्रो पटक’ सानुबाबुले श्रीमतीलाई विदेश पठाउनुको कारण खुलाउनुभयो ।
उहाँ अहिले पनि क्षयरोग र जण्डिस रोगले पीडित हुनुहुन्छ । अहिले त सानुबाबुका बुवा पनि एउटा हात नचल्ने भएर थलिनुभएको छ ।
श्रीमती सम्पर्क बिहिन भएपछि सानुबाबुले एजेण्ट राजु केसीलाई पनि खोज्नुभयो । तर राजु त भेटिएनन् नै उनको नम्बर पनि पत्ता लगाउन सक्नुभएन । राजुको अहिले काठमाडौंको माछापोखरीमा धौलागिरी गेष्ट हाउस छ भन्ने थाहा पाएका सानुबाबुले उनको नम्बर भने फेला पार्नै सक्नुभएन । ‘ठाउँमात्र चिनेर के गर्नु मान्छे बेपत्ता भएपछि ?’ सानुबाबु भन्नुहुन्छ ।
श्रीमती खोजिदिन आग्रह गर्दै धादिङको सुरक्षित आप्रवासन केन्द्रमा सानोबाबुसँग श्रीमतीले दिएको तर अहिलेसम्म फोन गर्दा नउठ्ने १४४५९६५५१२५१२९ नम्बर बाहेक अरु केही छैन । तर पनि परिवारको आशा अस्मितासम्म पुग्ने आशासहित भन्नुहुन्छ ‘ यो वर्षका चाड त खल्लो भयो तिमी कहिले आउँछौ ?’
Ujyaaloonline
