चितवनमा साइबर अपराधको समस्या गम्भिर बन्दै
करिब २ महिना पहिले भरतपुर निवासी प्रिती श्रेष्ठले आफ्नो नाममा फेसबुकबाट कसैले नक्कली खाता खोलेर विभिन्न फोटोहरु राखेको थाहा पाइन् । लगत्तै उनले जिल्ला प्रहरी कार्यालय चितवनमा घटना बारे निवेदन दिइन् । तर जिल्ला प्रहरी कार्यालयमा यसको समाधान थिएन ।
जिल्ला प्रहरी कार्यालयबाट उनको निवेदन अपराध अनुसन्धान महाशाखा काठमाडौँ चलानी गरियो । त्यसको केही समय पछि महाशाखाबाट श्रेष्ठलाई फोन आयो र उनलाई काठमाडौँ आउन भनियो । तर उनले आफू काठमाडौँ आउन नसक्ने बताएपछि उनीसँग फेसबुकको सक्कली खाताको विवरण मागियो । उनले आफ्नो फेसबुकको सबै विवरण दिन मानिनन् तर उनले आफ्नो नामबाट खोलिएको नक्कली खाता बन्द गरीदिन आग्रह गरिन् । त्यसको करिब एक महिनापछि उनको नक्कली भनिएको खाता प्रहरीले बन्द गरीदियो ।
यो साइबर अपराधको एउटा सामान्य घटना हो जुन प्रहरीमा उजुरी परेको थियो । तर यस्ता घटना दिनहुँ घटिरहेका हुन्छन् । जुन प्रायः बाहिर आउँदैनन् । सामाजिक सञ्जालको प्रयोग केही मानिस तथा समूहहरुले ब्ल्याकमेल गरेको थुप्रै उदाहरणहरु पनि छन् । पछिल्लो समय साइबर अपराधका घटनाहरु बढ्दै गइरहेका छन् । यसलाई संसारभरकै जटिल समस्याको रुपमा लिइन्छ । नेपाल जस्तो प्रविधिमा भरखर पाइला चाल्दै गरेको मुलुकको लागि यो समस्या अझ जटिल हुने जानकारहरु बताउँछन् ।
नेपालमा साइबर अपराधको अनुसन्धान गर्ने निकाय काठमाडौंमा मात्र रहेको छ । काठमाडौ बाहेकका अन्य जिल्लाहरुमा साइबर अपराधको अनुसन्धान गर्ने संयन्त्र छैन र उनीहरुलाई यसको अधिकार पनि दिइएको छैन् । जसले गर्दा अन्य जिल्लाहरुमा साइबर अपराघ भएको खण्डमा अनुसन्धानको लागि अप्ठ्यारो हुने गरेको छ ।
चितवनमा पनि साइबर अपराधसँग सम्बन्धीत थुप्रै निवेदनहरु जिल्ला प्रहरी कार्यालयमा आउँछन् । तर प्रहरी कार्यालयले निवेदनलाई काठमाण्डौँ ट्रान्सफर गर्ने काम मात्र गर्छ । चितवनको हकमा साइबर अपराधको अवस्था गम्भीर नै रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्तबहादुर कुवँर बताउँछन् ।
सत्य तथ्य पत्ता नलगाइकन आफ्नो नीजि स्वार्थपुर्तिका लागि कसैको मान मर्यादामा आँच आउने खालको स्टाटस गर्ने, युट्युबमा भिडियो अपलोड गर्ने जस्ता क्रियाकलापहरु यहाँ पनि भइनै रहेका छन् । यसलाई नियन्त्रण गर्ने हकमा राज्य लाग्नुपर्ने र साइबर अपराधको नियमनलाई अलि कडाइ गर्नुपर्ने आवश्यक छ । “साइबर अपराधको अनुसन्धान गर्ने र यसको नियमन गर्ने निकाय अपराध महाशाखा हो, साइबर अपराधको मुद्दा यहाँबाट सिधै दर्ता नहुने भएकाले यसमा अलिकति समस्या देखिएको छ”– प्रहरी उपरीक्षक कुवँरले भने ।
तर यो अपराधलाई निरुत्साहित गर्ने हकमा आफूहरुले सम्बन्धीत दोषीलाई पक्राउ गर्ने र सार्वजनिक अपराधको मुद्दाहरु दर्ता गर्ने गरेको उनले जानकारी दिए । उनका अनसार साइबर अपराधको प्रभाव चितवनमा पनि गम्भीर रहेको छ ।
Narayanionline
