रत्ननगर,२ कात्तिक ।
चितवनको रत्ननगरमा डेंगेको संक्रमण झनै बढ्दै गएको छ । नियन्त्रणको प्रयासका लागि जनचेतनामूलक कार्यक्रम र लामखुट्टेको ‘लार्भा, प्युपा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएपनि रत्ननगरमा संक्रमण बढ्दै गइरहेको छ । पछिल्लो तथ्यांकअनुसार चितवनमा डेंगे बिरामीको संख्या १ सय ७८ पुगेको छ ।
यो तथ्यांक असोज २७ गतेसम्मको हो । यसअघि असोज २१ गतेसम्म १ सय २५ जनामा यो रोग देखिएकोमा दशैंको अवधिमा डेंगेको संक्रमण ह्वात्तै बढेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । गत २१ गतेसम्मको तथ्यांकमा चितवनमा कूल १ सय २५ जनामा डेंगेको संक्रमण देखिएकोमा ८५ जना रत्ननगरको मात्रै थिए ।
तर, दशैं अवधिमा यो संख्या बढेर करिब १ सय ५० जनालाई डेंगे लागेको जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक रामकुमार केसीले जानकारी दिए । “दशैंको अवधिमा डेंगेको बिरामी ह्वात्तै बढे”, केसीले भने, “संक्रमितमध्ये ८० प्रतिशत रत्ननगरकै छन् ।” सरकारी अस्पतालहरुमा रगत परीक्षण गराएकाहरुमध्येबाट १ सय ७८ जनामा डेंगे देखिएको हो, तर जिल्लाका अन्य अस्पतालहरुमा रगत परिक्षण गराएकाहरुको रिपोर्ट भने आउन बाँकी छ ।
जनचेतनाको अभावमा रत्ननगरमा यसको संक्रमण बढेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । ग्यारेजमा राखिने टायर, कवाडी सामान, गमलालगायत पानी सफा पानी जम्ने ठाँउमा डेंगे सार्ने लामखुट्टेको बासस्थान हुने र यसले नै रोग फैलाउने गर्छ । त्यसैले यस्ता ठाउँमा पानी जम्न नदिनु नै यसबाट बच्ने मुख्य उपाय रहेको भेक्टर कन्ट्रोल निरीक्षक केसीले बताए । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले डेङ्गो सार्दछ । सो लामखुट्टेको लागी यो तापक्रम रोग सार्न उपयुक्त हुन्छ ।
विषेश गरी भदौ,असोज र कार्तिकमा प्रकोप हुने समय हो । एउटा लामखुट्टेमा ६ जना सम्मलाई रोग सार्न सक्ने क्षमता हुन्छ । “सरसफाईनै रोगबाट बच्ने प्रमुख उपाय हो”, भेक्टर कन्ट्रोल निरीक्षक केसीले थपे,“यस रोगको औषधि हुँदैन, नियन्त्रणका लागि स्वयं व्यक्ति नै सजग हुनुपर्छ ।” चितवनमा भदौको अन्तिम सातादेखि डेंगे देखिन सुरु भएको हो ।
जनस्वास्थ्य कार्यालयका अनुसार खैरहनीका ११, भरतपुरका ४, नवलपरासीका २ र कपिलवस्तुका १ जनामा डेंगे लागेको छ । गतवर्ष चितवनमा ८५ जनामा डेंगे देखिएकोमा त्यसमध्ये १ जना मात्रै रत्ननगरका थिए । नेपालमा सन् २००४ देखि डेंगे देखिन सुरु भएको हो ।
पहिलो बिरामी विदेशी नागरिक थिए । त्यसपछि सन् २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेंगेका बिरामी भेटिएका थिए भने आर्थिक वर्ष २०६७÷६८ मा यो रोग चितवनमा महामारीकै रुपमा फैलिएको थियो । देशभर ९ सय जनामा यो रोग देखिएकोमा चितवनमा मात्रै ७ सय ३९ जना संक्रमित थिए । त्योबेला चितवनमा डेंगेका कारण ५ जनाको ज्यानै गएको थियो । डेंगे रोग परीक्षणका लागि चितवनमा किट अभाव रहेको छ । बिरामीको तुलनामा रगत परीक्षणका लागि आवश्यक किट पर्याप्त नहरेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
 
Top