काठमाडौं, असोज २६ – नेपालमा बालिकाको अवस्थामा सुधार हुँदै गएको पछिल्लो अध्ययनले देखाएको छ । सेभद चिल्ड्रेनले गरेको अध्ययनका आधारमा नेपालमा बालिकोको अवस्था सुधार भएको देखिएको हो ।
बालिकाका लागि प्राप्त अवसरका आधारमा नेपाल विश्वमा मध्यमस्तरको राष्ट्रका रुपमा रहेको प्रतिवेदनमा उल्लेख छ । अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा सेभ द चिल्ड्रेनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल बालिकाको अवसर सूचकांकमा विश्वमा ८५ औँ स्थानमा छ ।


कुल १ सय ४४ देश समावेश गरिएको सूचकांकमा नेपाल अति कम विकशित देशमध्ये बालिकाको अवस्था राम्रो भएको देशमा परेको छ । सूचकांकमा नेपाल दक्षिण एसिया चौथो स्थानमा  छ । नेपालमा बालिकाले लागि भारत, पाकिस्तान, बंगलादेश तथा अफगानिस्तानमा राम्रो अवसर पाउने गरेको प्रतिवेदनले देखाएको छ ।


विश्व शक्तिको रुपमा आफूलाई उभ्याउने तरखरमा रहेको भारत भने बालिकाको अवसर सूचकांकमा नेपाल भन्दा पाँच स्थान तल ९० स्थानमा छ । भारत भन्दा अघि रहेको पाकिस्तान ८८ औं स्थानमा छ ।  बंगलादेश १११ औं र अफगानिस्तान १ सय २१ औं स्थानमा छ । सूचकांकमा दक्षिण एसियामा माल्दिभ्स सबैभन्दा अग्रस्थानमा छ । माल्दिभ्स ५० औं स्थानमा छ । त्यस्तै श्रीलंका ६० औं र भुटान ८० औं स्थानमा छ ।


बालविवाह, किशोरावस्थाको गर्भाधारण, मातृ मृत्युदर, संसदमा महिलाको प्रतिनिधित्व र छात्राहरुको निम्न माध्यामिक शिक्षा उत्तीर्ण गर्ने दरजस्ता मानकलाई आधार बनाएर बालिका अवसर सूचकांक तयार गरिएको हो ।
यो सूचकांकमा स्वीडेन पहिलो स्थानमा छ । फिनल्याण्ड दोस्रो, नर्वे तेस्रो, नेदरल्याण्डस् चौथो, बेल्जियम पाँचौं, डेनमार्क छैटौं, स्लोभेनिया सातौं, पोर्चुगल आठौं, स्वीट्जरल्याण्ड नवौं तथा इटाली दशौं स्थानमा छ ।
यस्तै बेलायत १५ औं स्थानमा छ भने विश्व महाशक्ति राष्ट्र अमेरिका ३२ औं स्थानमा छ । नाइजर सूचकांकको पुछारमा छ ।
 
Top