काठमाडौं, असोज १६ – दसैँ सुरु भएसँगै विमानस्थलमा बडेमानका सुटकेस बोकेर मुस्कुराउँदै स्वदेशी भूमिमा फर्कनेका लर्को लागेको छ । वर्षौंसम्म भेटन नपाएका आफन्त भेट्दाको खुसी पनि उत्तिकै छ ।
परदेशबाट चाडबाड मान्न फर्केका नेपालीका कारण विमानस्थलमा दसैँको रौनक झनै बढेको छ । तर दसैँको मुखैमा आफन्तसँग विछोडिएर परदेश जानेहरुको लर्कोले विमानस्थलको अर्को कुनामा खुसी हराएको छ । आफन्तलाई विदाई गर्न विमानस्थल पुगेकाहरु पनि पिलपिल आँसु पार्दै घोसेमुन्टो लगाएका हुन्छन् । आफूलाई पुर्याउन आएका आफन्तलाई फर्केर हेर्दै सुँक्कसुँक्क गरिरहेका देखिन्छन् । केहीले भने मनमा जे जस्तो पीर व्यथा भएपनि त्यसलाई लुकाएर आफन्तलाई सान्त्वना दिएको देखिन्छ ।
घरपरिवारसँग रमाउने बेलामा पसिना बगाउन साउदी अरब जानुपरेपछि सर्लाहीका लालबाबु महतोलाई पनि बिरह लागेको छ ।
‘चाडवाडको मुखमा जन्मथलो र आफन्त छाडेर परदेश जान मन त कहाँ थियो र घडेरी किनेको ऋण तिर्न जान लागेको हजुर’ मलिन अनुहारमा महतोले भन्नुभयो, ‘अब यता केही गरेपनि जागिर भेटिँदैन, २/४ वर्ष उता पसिना बगायो भने त ऋण तिर्न सकिन्छ नि ।’
घरका बुढा आमाबुवा, श्रीमती र साना साना केटाकेटी छाडेर चाडवाडको मुखमा परदेश जानु आफ्नो बाध्यता रहेको भन्दै महतोले निक्कै दुःख पोख्नुभयो ।
विमानस्थलको दृश्यले मात्र होइन, श्रम तथा रोजगार विभागबाट अहिले पनि दैनिक १२ सय जनाले श्रम स्वीकृति लिनुले चाडबाडमा पनि धेरै नेपाली मनमा पीरको राँको बालेर परदेशिएको कुरालाई थप पुष्टी गरेको छ । मान्यजनको आशीर्वाद थाप्ने बेलामा परदेशमा कामको भारीले थिच्ने भएपछि विमानस्थलबाट बाहिरिनेहरुको मनमा खुसीका धर्सा मेटिएका छन् ।
दसैँमा बुवाआमाको काख र छोराछोरीको माया छाडेर कतार हिँडेका चितवनका धर्मदत्त अधिकारी भन्नुहुन्छ, ‘आफूले नै मलिन मुहार लगाएँ भने परिवार झनै रुन्छन, त्यसैले आँसु लुकाएर दसैँको मुखमा विदेश जानुपरेको छ ।’
बजारमा किनमेल गर्नेको घुईंचो बढेको छ, भने टाढा भएका आफन्तहरु पनि एकैठाउँ जुट्न थालेका छन् । विमानस्थल र बसपार्कहरुमा गाउँघर जाने यात्रुको चहलपहल छ, तर आयआर्जनको कुनै मेसो नहुँदा धेरै यूवा भने दसैँको मुखमा आफन्तको साथ छाडेर श्रम गर्न परदेशी भूमिमा जानेहरुलाई त्यो रौनकले छुन सकेको छैन ।
धेरैजना घरका मुली नै विदेश हिँडेपछि घर नै शुन्य भएको छ । चाडबाडमा परिवारमा अभिभावक नै नभएपछि आफन्तहरुलाई पनि दसैँ खल्लो हुने भएको छ ।
डिग्री पासको प्रमाणपत्र सिरानीमुनी राखेर पसिना बगाउन खाडी
अनपढ र सीप नभएका मात्र होइन डिग्री पास गरेका युवा पनि देशमा काम पाइएन भन्दै देश छाड्न बाध्य छन् । गलितो गासबासको खोजीमा खेतमा झुल्दै गरेको धान, आँगनको डिलमा फुलेका मखमली र सयपत्री अनि चौबाटाका रोटेपिङ झल्झली सम्झँदै दसैँ तिहारको मुखमा परदेशको बाटो लागेकाहरुले सरकारलाई धिक्कारेका छन् ।
पढाइ र सीप अनुसारको जागिर नपाउँदा चाडवाडको मुखमा पनि परिवारको साथ छाडेर विदेश जानुपरेको भन्दै विमानस्थलमा सरकारलाई गाली गर्ने र आक्रोश पोख्नेको पनि कमी छैन । ‘सिरानीमुनी डिग्रीपासको प्रमाणपत्र राखेर कामको खोजीमा परदेश हिँड्नेहरु धेरै छन्, तर सरकार टुलुटुलु हेरेर मात्र बसेको छ’ अष्ट्रेलिया जान लागेका झापाका होम दवाडीले भन्नुभयो, ‘देशको अवस्था यस्तै छ, विदेश नजाउँ भनेर अड्डी कस्ने अवस्था नै छैन ।’
सरकारले देशमा रोजगारीका अवस्था सिर्जना नगरेसम्म परिवारमा जस्तोसुकै पीडा र दुःख भएपनि परदेश जानुपर्ने बाध्यताको अन्त्य नहुने दवाडीको भनाई छ ।
