भरतपुर,९ कात्तिक।
माडी नगरपालिका १२ बाँदझुलाका स्थानीयले उचित व्यवस्था मिलाएर मात्रै वस्ती स्थान्तरण गर्न माग गरेका छन् । भरतपुरमा पत्रकार सम्मेलन गरि उनीहरुले सधै वस्ती उठाउने त्रासमा आफुहरु बस्न नचाहेको भन्दै उचित व्यवस्था मिलाएर वस्ती स्थानान्तरण गर्न माग गरे । भूमि सुधार मन्त्रालयका उपसचिव लीलानाथ दाहालले गत भदौं ७ गते स्थलगत अध्ययन मन्त्रालयमा प्रतिवेदन बुझाएका थिए ।
सरकारले प्रतिवेदनका आधारमा वस्ती स्थानान्तरणको पहल सुरु गर्न थालेको छ । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत वस्ती परेको भन्दै पटक पटक निकुञ्जले वस्ती हटाउने प्रयास गरेपनि असफल बन्दै आएको थियो । स्थानान्तरणको चर्चा सुरु भएलगत्तै उनीहरुले राम्रो बसोबास क्षेत्रको माग गरेका हुन् । बाँदरझुलावस्ती व्यवस्थापन समितिले केिहदिन अघिमात्रै प्रधानमन्त्री, वन तथा भू संरक्षण समिति, भुमिसुधार व्यवस्था मन्त्री, शिक्षा मन्त्रीसँग भेटघाट गरेका थिए । भूमिसुधार मन्त्री तथा शिक्षा मन्त्री माडीबाटै मन्त्री बनेका हुन् । उनीहरु मन्त्री बनेलगत्तै उनीहरुले तत्काल वस्ती सर्न नपर्ने आशा पालेका थिए । तर, वस्ती सार्ने भन्दै खबरहरु आएपछि उनीहरु उपयुक्त स्थानको खोजीमा छन् ।
“हामीलाई मंसीरसम्म नहटाउने चितवनका दलहरुले आश्वसन दिएका थिए”, बाँदरझुलावस्ती व्यवस्थापन समितिका अध्यक्ष सोमबहादर विक ‘दीलिप’ले भने,“प्रभावित समुदायसँग छलफल नगरि वस्ती सारिदैछ, कहाँ सार्ने हो हामी अनविज्ञ छौं ।” उनले आफुहरुले पदमपुरको उत्तरतर्फ रहेको खाली जग्गामा सर्न चाहेको बताए । “कालिका नगरपालिकाको मान्द्रे गुन्द्रे ठाउँ उपयुक्त छ भनेर हामी भन्दै आइरहेका छौं”, उनले भने,“करिव एक हजार विघा जग्गा छ, कु–काठहरु छन्, जग्गा खाली छ ।” उनले ठुला ठुला रुखहरु नरहेको भन्दै सो स्थाननै उपयुक्त हुने बताए ।
चितवन राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रमा पर्ने बा“दरझुला र वरिपरिको मध्यवर्ती वन क्षेत्रमा बसेका व्यक्तिहरुलाई असार २६ गते ३५ दिनभित्र बस्ती खाली गर्न सूचना जारी गरेको थियो । पछि दलीय दबाब पश्च्चात वस्ती खाली गर्न पुगेका निकुञ्जका सेनाहरु फर्किएका थिए ।०४७ सालदेखि सो क्षेत्रमा बस्ती बस्न सुरु भएपनि २०५२ सालदेखि सो क्षेत्रमा बस्ती बस्ने क्रम बढेको थियो । हाल करिब ६ सय घरधुरी रहेको छ ।
निकुञ्जले २०५८ सालमा यो बस्ती हटाउने प्रयास गरेपनि सफल हुन सकेन । तर, यसपाली भूमि सुधार तथा व्यवस्था मन्त्रालय भूमि व्यवस्थापन महाशाखाले बाँदरझुला बस्ती स्थानान्तरणका सम्बन्धमा कारबाही सुरु गरेको हो । मन्त्रालयले वस्तीलाई कहाँ सार्न सकिन्छ भन्नेबारे खोजि गर्न जिल्ला मालपोत र नापी कार्यालयलाई परिपत्र गरेको थियो । असोज ६ गतेनै परिपत्र गरिएको हो । जिल्लास्थित कार्यालयले सम्भावित जग्गाबारेको विवरण मन्त्रालयमा पठाइसकेको छ । माडीको साविक गर्दीमा ४४ बिघा र कल्यणपुरमा २९ बिघा, भण्डारामा ३२ बिघा, जगतपुरमा ३१ बिघा जग्गा उपयुक्त हुन सक्ने भन्दै सुझाव पठाइएको छ । तर, स्थानीयले सो स्थानहरु नदीले कटान गर्न सक्ने जोखिम मानिएका क्षेत्र भएको भन्दै आफुहरु सो स्थानहरुमा नबस्ने जीकिर गरेका छन् ।
