पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सिरहाको मिर्चैयामा यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ । ज्यान जानेमा भारत सिकिम्म ग्यानुनका विन्दिया गुरुङ, पायल अग्रवाल, र पाँचथर रवि–६ का नानु राई रहेको प्रहरीले जनाएको छ ।
काँकरभिट्टाबाट काठमाडौँ जादै गरेको ना ५ ख ४८९९ नम्बरको मकालु बस र बिपरित दिशाबाट आउँदै गरेको ना ३ ख ४१३० नम्बरको ट्रक गएराती करीब १२ बजे मिर्चैयाको मुख्यचोकमा ठोक्किएको थियो ।
दुर्घटनामा परि एक दर्जन भन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेमध्ये अबस्था गम्भिर रहेका ३ जनालाई थप उपचारको लागि बिराटनगर लगिएको छ ।
घाइते हुनेहरुमा बिलु कालाखेदी, भारत सिकिम्म ग्यानुनका अनुका थापा, काठमाडौँ सूर्य थापा र सन्देश थापा रहेको इलाका प्रहरील मिर्चैयाका डिएसपी श्याम सिंह चौधरीले जानकारी दिए ।
केही घाइतेहरुको नाम र ठेगाना अहिलेसम्म खुल्न नसकेको इलाका प्रहरी मिर्चैयाले जनाएको छ ।
समान्य घाइतेहरुको मिर्चैयाको रेखा नरसिंग होममा उपचार भइरहेको ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका ट्राफिक प्रहरी नायब निरिक्षक शिब नारायण कुमर दनुवारले जानकारी दिए ।
ट्रकको चालक निदाएको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । शव जिल्ला स्वास्थ्य कार्यालयमा राखिएको जनाएको छ ।
प्रहरीले बस र ट्रक चालकलाई नियन्त्रनमा लिएर अनुसन्धान भइरहेको मिर्चैयाका डिएसपी चौधरीले बताए ।
