नेकपा एमालेले पूर्वी चितवनको बछौली उच्च माविको प्रसाशनमा आज विहान तालाबन्दी गरेको छ । विद्यालय व्यवस्थापन समिति चयनमा एमालेलाई वेवास्था गरिएको भन्दै नेकपा एमाले विशेष नगर कमिटी बछौलीले विद्यालयको प्रशासन कक्षका तालाबन्दी गरेको हो ।
एमाले विशेष नगर कमिटीले आफनो जिल्ला अधिवेशन भएकाले तिहारपछि अभिभावकको भेला बढाई व्यवस्थापन समिति गठन प्रक्रिया अगाडि बढाउन लिखित आग्रह गरेको थियो । जिम्मेवार दलले गरेको लिखित आग्रहलाई वेवास्था गरी विद्यालयले अभिभावक भेला बोलाई मंगलबार व्यवस्थापन समितिमा ४ जना सदस्य मनोनित गरेको थियो । लिखित आग्रह गर्दा पनि विद्यालयका प्राचार्य शिबराम मरहठ्ठा, नेपाली काँग्रेस र माओवादी केन्द्रले एकलौटी रुपमा व्यवस्थापन समिति प्रक्रिया अगाडि बढाएपछि असन्तुष्ट बनेको एमालेले विद्यालयमा तालाबन्दी गरेको हो । पार्टीले विद्यालयमा तालाबन्दी गरेको प्रहरी र जिल्ला शिक्षा कार्यालयलाई समेत जानकारी गराएको छ ।
विद्यालय व्यवस्थापन समितिमा मनोनित गरिएका ४ सदस्य खारेज गरी नयाँ प्रक्रियाबाट विद्यालय व्यवस्थापन समिति चयन प्रक्रिया अगाडि बढाउन माग गरिएको नेकपा एमाले वडा नं। १८ का वडा कमिटी सचिव रामचन्द्र सापकोटाले बताए । उता विद्यालयका प्राचार्य मरहठ्ठाले बहुमत अभिभावकको उपस्थितिमा व्यवस्थापन समिति चयन प्रक्रिया अगाडि बढाईएको र असन्तुष्ट पक्षलाई पनि सहमतिमा ल्याएर समितिका अन्य सदस्य तथा पदाधिकारी चयन गरिने बताए ।
