काठमाडौं: संघीय समाजवादी फोरम नेपालका नेता आङकाजी शेर्पाले सिन्धुपाल्चोकको गिरानचौरमा कलाकारहरु धुर्मुस-सुन्तलीले बाख्रा पनि बाँध्न नमिल्ने बस्ती बसाएको आरोप लगाएका छन् ।

आदिबासी तथा जनजाति नेता समेत रहेका आङकाजीले धुर्मुस-सुन्तली फाउन्डेसनको प्रयासमा बनेको गिरानचौर नमुना बस्तीको धेरै प्रचार भएको भन्दै विरोध जनाएका हुन् ।

आफ्नो फेसबुक पेजमा फोटोसहितका दुईवटा स्टाटसमार्फत आङकाजीले बस्तीमा बनेका घरमा बाख्रा-भैँसी पनि बाँध्न नमिल्ने भन्दै आलोचनामा उत्रेका हुन् ।

सधैँजसो नकारात्मक टिप्पणी गरेर आलोचित हुने उनले यो पटक धुर्मुस-सुन्तलीले देशविदेशबाट पनि प्रशंसा बटुलिरहेकै काममा निशाना साँधेका हुन् ।

'धुर्मुसले भूकम्पपीडितका लागि भैँसी-बाख्रा पाल्न नमिल्ने घर बनाएकोमा यत्रो चर्चा हो-हल्ला खैलाबैला । आफैँले बालुवा इँट्टा बोकेर बौद्ध बनाउनेहरूको ख़बर खै त ?', उनले प्रश्न गरेका छन्, 'विदेशी अनुदान ६ करोड लिएर ९ लाख पर्ने एउटा घर ! भूकम्पपीडितले भैंसी-बाख्रा पाल्न र सागसब्जी समेत रोप्न नमिल्ने
६५ घर धुर्मुसले बनाएपछि राष्ट्रपतिले उदघाटन गरे । बधाई दिए, सन्चारमाध्यमा होहल्ला र खैलाबैला...।''

आङकाजीले भूकम्पबाट क्षतिग्रस्त काठमाडौंको बौद्धनाथ ४५ करोड संकलन गरेर बनाउँद सञ्चारमाध्यमले समाचार नबनाएको भन्दै रोष प्रकट गरेका छन् ।

'काठमाडौंको मुटुमै ४५ करोड संकलन गरेर लाखौं बौद्धमार्गीहरू आस्थाको घर बनाउने यी भिक्षु, भिक्षुणी र भक्तजनहरूलाई राष्ट्पतिको बधाई खै त ? सन्चारमाध्यममा समचार खै त ? अन्याय भयो प्रभु ! न्याय पाऊँ ! नत्र विद्रोह अवश्य हुनेछ !'

अर्को स्टाटसमा आफूले पनि भूकम्पपीडितका लागि ११ जिल्लामा खट्दा कतै प्रचारप्रसार नगरेको बताएका छन् ।
 
Top