पीडित कमल श्रेष्ठ



कार्तिक ५, २०७३- सात महिनादेखि रोकिएको तलब माग्दा कोरियामा रेष्टुरेन्ट ब्यबसायी गर्दै आएका नेपाली ब्यवसायी तेन्जिङ (डिबी) लामाले कुक कमल श्रेष्ठलाई स्वदेश फिर्ता पठाएको छ ।

लामाले कोरियाको सोलस्थित म्याङदोङमा ८ वर्षदेखि पोतला रेष्टुरेन्ट चलाउँदै आएका थिएँ ।‘गएदेखि नै तलब नियमित दिने गरेको थिएन । पछिल्लोपटक सात महिना तलब रोकिएको थियो । घरमा ऋण तिर्नु छ, पैसा चाहियो भनेर दशै अघि भनेको थिएँ । उनले एक्कासी तिमी नेपाल जाऊ भन्दै टिकट दिए’, नेपाल आइपुगेका रामेछापका कमलले भने,‘मेरो भिसा आउँदो मेमा सकिन्थ्यो । त्यत्रो लगानी गरेर गएको थिएँ । पुरा काम गर्न नपाई फर्किनु पर्‍यो ।’ घर पठाउने बेला भने ६० हजार रुपैयाको दरले हिसाब गरी दिएका थिए ।

कमल १२ मे २०१५ मा कोरिया ब्यक्तिगत श्रमस्वीकृति लिएर गएका थिए । कोरियामा दक्ष कामदार (कुक)मा काम गर्न ‘इपियस’बाट जानु पर्दैन् । ‘लामा कुक खोज्दै नेपाल आएका थिए । उनीसँग मेरो सम्पर्क भयो । कोरिया जान ४ लाख रूपैयाँ उनको बुबालाई लगेर घरमै बुझाएँ’, उनले भने,‘१५ लाख कोरियन (करिब १ लाख ५० हजार रुपैयाँ)को सम्झौता गरेका थिएँ ।’

लामाले कोरिया पुगेपछि ६० हजार रुपैयाँ मात्रै तलब दिन थालेका थिए ।  ‘१५ लाख कोरियन पैसा त कोरियनले पनि पाउँदैन’, व्यवसायी लामाले कान्तिपुरसँग भने,‘उसलाई जति दिनु थियो । दिएकै छु । मेरो उल्टो बदनाम गर्ने काम भएको छ । उ काम नगरी भागेको हो ।’

पीडित श्रेष्ठले क्षतिपूर्तिको दावी गर्दै बैदेशिक रोजगार विभागमा उजुरी दिएका छन् । उनले न्यायको लागि कोरियास्थित गैरआबासीय नेपाली संघ, सामाजिक संस्थाहरु र नेपाली दुताबासलाई समेत अनुरोध गरेका थिए ।

सोलस्थित नेपाली दुताबासका श्रम सहचारी देवराज ढकालले इपिएसमा आएका कामदारको मात्रै मुद्दा हेर्न मिल्ने भन्दै विभागमा उजुरी दिन सुझाब दिएर पठाएको बताए । ‘कोरियामा सरकार सरकारबीच सम्झौता भए अनुसार इपिएस अन्तर्गत आएका कामदारको मुद्दा मात्रै हेर्ने हामीलाई अधिकार छ’, उनले कान्तिपुरलाई भने,‘ब्यक्तिगत रुपमा दुई पक्षीय सम्झौता अनुसार आएकालाई हेर्ने अधिकार छैन ।

 
Top