नेपालले राखेका दुईवटा प्रस्तावमा मलेसियाबाट आएको प्रतिनिधिमण्डल सहमत नहुँदा नेपाल र मलेसियाबीच श्रम सम्झौताको लागि भएको पहिलो चरणको छलफल बिना निष्कर्ष टुंगिएको छ।
सम्झौताका धेरै विषयमा विस्तृत छलफल भएपनि केही प्रस्तावमा अझै तयारी गर्नुपर्ने भएकोले अर्को चरणमा वैठक बस्ने गरी सकिएको नेपाली टोलीको नेतृत्व गरेका श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणी भुर्तेलले जानकारी दिए।
मलेसिया सरकारको मानव संशाधन मन्त्रालयका सहसचिव केसावन करुप्पीह नेतृत्वको टोली र नेपालका तर्फबाट भुर्तेल नेतृत्वको टोलीबीच श्रम सम्झौताका बुँदामा सोमबार र मङ्गलबार छलफल भएको थियो।
छलफलमा नेपाली कामदारले फ्रि भिसा र टिकट पाउनुपर्ने र करार अवधिभरको विमा रोजगारदाता कम्पनीले गर्नुपर्ने प्रस्ताव नेपाल पक्षले राखेपनि मलेसियाली टोलीले उक्त विषयमा असहमति जनाएको वार्तामा सहभागी एक सदस्यले जानकारी दिए।
मलेसियाले नेपाली कामदारलाई जाँदाको टिकट निःशुल्क दिन नसकिने भन्दै नेपालको प्रस्तावमा असहमति जनाएको थियो। विभिन्न देशहरुबाट वर्षेनी १८/२० लाख विदेशी कामदार मलेसिया जाने हुँदा नेपालीलाई मात्र त्यस्तो सुविधा उपलब्ध गराउँदा आफूहरुलाई समस्या पर्ने भन्दै उनीहरुले असहमति जनाएको नेपाली पक्षबाट सहभागी सदस्यले बताए।
फ्रि भिसा र टिकटको कानूनी व्यवस्था भएको र सो व्यवस्थालाई नकार्न नसकिने नेपाली पक्षले आफ्नो प्रस्ताव हेरफेर गर्न नमानेपछि उक्त बुँदामा सहमति हुन नसकेको स्रोतले जानकारी दियो।
