भरतपुर,११ फागुन ।
हाल ३ सय सैया रहेको भरतपुर अस्पताललाई ६ सय सैयाको बनाई केन्द्रीय अस्पतालको रुपमा विकास गर्नको लागि नयाँ गुरुयोजना प्रस्तुत गरिएको छ । मंगलबार सो गुरुयोजनाको सम्बन्धमा राजनीतिक पार्टी तथा सम्बन्धित निकायसँग अन्तरक्रिया गरिएको छ ।
मन्त्रालयसँगको पटक–पटकको पहलपछि अस्पतालको स्तरोन्नतिको लागि नयाँ गुरुयोजना स्वीकृत भएको अस्पताल विकास समिति अध्यक्ष राजकुमार राजभण्डारीले जानकारी दिए । गुरुयोजनामा वर्षौं पछिसम्मको योजनालाई समेत ख्याल राख्दै मेडिकल कलेज तथा अस्पतालको सेवाको स्तरोन्नति समावेश गरिएको उनले बताए । भरतपुर अस्पतालको वर्तमान अवस्था सुधार गरी सेवा विस्तारको लागि नयाँ गुरुयोजना प्रस्तुत गरिएको उनको भनाइ छ । ६ सय सैयाको अस्पतालको लागि स्वीकृति लिएसँगै चिकित्सक तथा अन्य सबै कर्मचारीहरुको दरवन्दीसमेत थप गरिने उनले जानकारी दिए ।
हाल नयाँ गुरुयोजनाको भौतिक संरचनाको बारेमा छलफल भइरहेकोले यसको लागत र लाग्ने समयको बारेमा भने एकिन नभइसकेको अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रप्रसाद मरासिनीले बताए । “अहिले अस्पतालको भौतिक संरचना कहाँ र कस्तो बनाउने भन्ने विषयमा प्लानिङ भइरहेको छ” उनले भने, “त्यसकारण त्यसको तय भइसकेपछि आर्थिक र जनशक्ति तय गरिनेछ । नयाँ गुरुयोजना निर्माणको अहिले पहिलो चरण चलिरहेको छ ।” दोस्रो चरणमा लाग्ने लागत र जनशक्तिको बारेमा त्यसपछि निर्णय गरिने उनले बताए ।
अस्पतालको भौतिक संरचनाको ‘डिजाइन’ निर्माणको लागि काठमाडौंको एनट आर्किटेक एण्ड आर्किटेक्चर कम्पनीलाई जिम्मा दिइएको डा. मरासिनीले बताए । संरचना डिजाइन निर्माणमा जग्गा विवादका कारण भने केही चुनौतीहरु थपिएको उनले बताए । जग्गाको विषय निकै जटिल भएकाले यसलाई पछि सुल्झाउने गरी गुरुयोजना अघि बढाउन सकिने तर जग्गाको विषयलाई पहिले सुल्झाउनतिर लागिए गुरुयोजना नै नबन्ने खतरा रहेको उनले टिप्प्णी गरे ।
कार्यक्रममा बोल्दै चितवन क्षेत्र नम्बर ३ का सांसद् तथा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले भरतपुर अस्पताल हाल पनि रिफरल (अन्य अस्पतालबाट बिरामी रिफर गर्न मिल्ने) अस्पतालको रुपमा रहेको भन्दै यसलाई केन्द्रीय अस्पतालको रुपमा विकास गर्नको लागि चितवनका सबै सांसद्हरुले पहल गरिरहेको बताए । भरतपुर अस्पताल गरीब जनताले उपचार गर्न आउने अस्पताल भएकाले अस्पतालको सेवा सबै बिरामीको पहुँचमा हुनुपर्ने उनले बताए । स्वास्थ्य सेवा हरेक नागरिकको अधिकार भएकाले स्वास्थ्य सेवाको लागि सम्झौता गर्नु नपर्ने स्थिति सिर्जना गर्नको लागि अस्पतालले आफ्नो सेवा विकास गर्नुपर्ने उनको भनाइ छ । उनी भन्छन्, “अहिले पनि कतिपय नेपाली जनता सिटामोल खान नपाएर ज्यान गुमाउनुपर्ने अवस्था छ । अस्पतालले यस्तो समस्यालाई सम्बोधन हुने गरी आफ्नो सेवा विस्तार गर्नुपर्छ ।”
नेपाली कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठले आफूहरु अस्पतालको सुधारको लागि सहयोग गर्न तयार रहेको बताए । हाल कांग्रेसकै नेता स्वास्थ्यमन्त्री रहेकोले पनि अस्पतालको स्तरोन्नतिको लागि मन्त्रालयसम्म कुरा लैजान सजिलो हुने उनले बताए । अस्पतालको विकासको लागि विकास समिति र चिकित्सकको विवाद वाधक बन्न सक्ने भएकाले सर्वप्रथम सो विवाद निराकरणतर्फ लाग्नुपर्ने उनको राय छ । “अस्पतालका चिकित्सक तथा कर्मचारीले पनि आफूलाई सुरक्षित महसुस गर्न सक्ने वातावरण अस्पतालले सिर्जना गर्नुपर्छ” उनले भने, “चिकित्सकहरुले पनि अस्पतालको विकासमा सहयोग गर्नुपर्छ ।” चिकित्सकले आफ्ना समस्याहरु स्पष्टसँग राखेर अघि बढ्न आवश्यक रहेको उनले बताए ।
अस्पतालमा कार्यरत चिकित्सकले अस्पतालको भौतिक विकाससँगै कर्मचारीहरुको पनि विकासमा ध्यान दिनुपर्ने बताएका छन् । विकास समितिले आन्तरिक कर्मचारीको सुदृढीकरणमा ध्यान दिनु उत्तिकै आवश्यक रहेको चिकित्सक संघ चितवनका सचिव डा. भोजराज अधिकारीले बताए । अस्पतालका मेडिकल विभाग प्रमुख विजयप्रसाद पौडेलले विकास समिति र चिकित्सकबीच राम्रो छलफल हुन नसकेको बताए । अस्पतालमा हाल बहिरंग सेवाको भवन, आकस्मिक कक्षमा सहज पहुँच तथा कर्मचारीहरुको आवास गृहको व्यवस्था नभएकाले नयाँ गुरुयोजनामा यसलाई समावेश गरिनुपर्ने उनले सुझाव दिए । अस्पतालभित्रको बाटो पीच हुनुपर्ने, ढलको व्यवस्था तथा उचित क्यान्टिनको व्यवस्था हुनुपर्ने उनको भनाइ छ ।
साभार : खबर चितवन
