चितवन, फागुन ४–



सरकारले माओवादी सेनाका लडाकुहरुको मुख्य शिविर रहेको चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको छ ।

माओवादी सेनाका लडाकुका पूर्वसुप्रिम कमाण्डर रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको हो । शक्तिखोरमा माओवादी सेनाका लडाकुको तेस्रो डिभिजन रहेको थियो । माओवादी सेनाका पूर्वडेपुटी कमाण्डर तथा उर्जामन्त्री जनार्दन शर्माका अनुसार चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरिएको हो । ०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला र वर्तमान प्रधानमन्त्री प्रचण्डबीच भएको विस्तृत शान्ति सम्झौतापछि माओवादी सेनाका लडाकुको प्रमुख मुख्यालय शक्तिखोरमा बनाइएको थियो।
सेना समायोजनअघि करीब चार बर्ष लडाकुहरु त्यहि बसेका थिए । माओवादी लडाकुका लागि सात मुख्य र २१ सहायक शिविर स्थापना गरिएको थियो । शिविर सञ्चालन गरिएका स्थानलाई संग्रालयका रुपमा संरक्षण गरिनु पर्ने माओवादीका नेता तथा कार्यकर्ताले बताउँदै आएका थिए।


बैठकले औद्योगिक क्षेत्रसंगै विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंकसँग २० अर्ब रुपैया ऋण लिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

चितवनका उद्योगीहरुमा खुशीयाली

माओवादी शिविर रहेको शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापनाको माग गर्दै चितवन उद्योग संघले पटक–पटक सरकारसंग माग गरेको थियो । चितवनबासी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएलगत्तै चितवन उद्योग संघको विशेष टोली प्रधानमन्त्रीलाई बधाई दिन बालुवाटार नै पुगेको थियो । त्यसबखत संघले शक्तिखोरमा औद्योगिक क्षेत्र बनाउन सकिने र यसको सम्भावना निकै बढि रहेको प्रधानमन्त्रीलाई जानकारी गराएको थियो । प्रधानमन्त्री दाहाल त्यसबेला नै निकै सकरात्मक हुनुहुन्थ्यो । चितवनका उद्योगी/व्यवसायीहरुले पटक–पटक सरकारसंग यही माग राख्दा अन्तत सम्बन्धित मन्त्रालय र स्वंम प्रधानमन्त्री सकरात्मक बन्दा मन्त्रीपरिषद् बैठकले नै निर्णय गर्न सफल रह्यो ।

 
Top