काठमाडौं । “जीवन सङ्घर्ष हो । सफलता र खुसी भन्नु नै मानिसको सोचाइ ‘स्टेट अफ माइन्ड’ हो । ” यो इन्डोनेसियाली विमान लायनका क्याप्टेन वेद उप्रेतीको जीवन बुझाइ हो ।

सफलताको सपना चुम्ने मानिसका लागि उप्रेतीको यो भनाइ प्रेरणादायी हुन सक्छ । तर कुन बेला सुखी र दुःखी हुने भन्ने व्यक्तिको सोचाइमा भर पर्छ । निरन्तरको मेहनतले सफलताको शिखरमा उनलाई पुर्याएको हो ।

राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय नागरिक उड्डयनका क्षेत्रमा स्थापित विमान चालक उप्रेतीले नेपालको गौरव र गरिमा विदेशमा पनि बढाइरहेका छन् । हवाई उड्डयनका क्षेत्रमा मात्र नभई देश र समाजका लागि फरक काम गरेर विश्वमा आफ्नो पहिचान बनाएका उप्रेतीले उड्डयन सङ्ग्रहालय (एभिएसन म्युजियम) स्थापना गरी नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

उनले विश्वकै फरक एभिएसन सङ्ग्रहालय काठमाडौँ, सिनामङ्गलमा बनाएका छन् । यसअघि उनले धनगढीमा एयरक्राफ्ट म्युजियम सञ्चालन गरी चर्चा कमाएका थिए ।

टर्किस एयरको एयरबस–३३० लाई एभिएसन म्युजियम बनाइएको हो । उक्त एयरबसको ककपिटभित्र राइट ब्रदर्सको पालादेखि अहिलेसम्मका मोडेल एयर क्राफ्ट राखिनेछ । त्यसैगरी एभिएसनको इतिहास र आगामी रणनीतिसम्बन्धी वृत्तचित्र र नेपालको एरियल फोटोग्राफी(आकाशबाट तस्बिर खिँच्नु) प्रदर्शनी गरिनेछ । फिस्टेल एयरको हेलिकोप्टर पनि सङ्ग्रहालयमा अट्नेछ ।

उड्डयन क्षेत्रमा युवा पुस्तालाई आकर्षण गर्ने र पर्यटनको नयाँ गन्तव्य स्थापित गर्ने उद्देश्यले एभिएसन सङ्ग्रहालय सुरु गरिएको क्याप्टेन उप्रेतीले बताए ।
 
Top