तीन वर्षदेखिको प्रेममा धोका दिएको भन्दै एक युवकले मध्यरातमा बुटवलको होटेलमा एसिड प्रहार गरी युवतीको हत्या गरेका छन्। धादिङ नौबिसेका २८ वर्षीय सुनील कोइरालाले नवलपरासी गैँडाकोट नगरपालिका–५ निवासी २७ वर्षीया तुलसा सापकोटालाई एसिड प्रहार गरी हत्या गरेका हुन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। जसलाई बुटवलबाट पत्रकार विष्णु घिमिरेले लेखेका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू दुवैजना आइतबार बुटवल उपमहानगरपालिका–६ स्थित मेरिडियन होटेलमा वास बसेका थिए। उनीहरूसँगै युवतीकी सानीआमा पनि होटेलमा बसेकी थिइन्। तर, सानीआमा अर्को कोठामा भएका कारण एसिड प्रहार भएको तत्काल थाहा पाउन सकिनन्।
प्रहरीका अनुसार होटेलको कोठा नम्बर १०३ मा बसेका वेला सुनीलले तुलसामाथि राति साढे ११ बजे एसिड प्रहार गरेका हुन्। एसिड प्रहारबाट गम्भीर घाइते तुलसालाई राति नै उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल लगिएको थियो। तर, त्यहाँ उपचार हुन नसकेपछि मेडिकल कलेज भैरहवा लगिएकोमा उपचारका क्रममा सोमबार दिउँसो सवा १२ बजे युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक बेलप्रसाद पाण्डेले जानकारी दिए।
मध्यरातमा आफूमाथि एसिड प्रहार भएपछि युवती चिच्याएकी थिइन्। उनको आवाज सुनेपछि होटेलका कर्मचारी तत्काल कोठामा पुगेका थिए। उनीहरूले युवकलाई होटेलभित्रै थुनेर प्रहरी बोलाई पक्राउ गराएका थिए। त्यसपछि मात्र कर्मचारीहरूले युवतीकी सानीआमालाई उठाएका थिए। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले सुनीललाई पक्राउ गरी अनुसन्धान थालेको जानकारी दिए।
कुवेतमा मायाप्रेम बस्यो, बुटवलमा हत्या
प्रहरी नायब उपरीक्षक पाण्डेले उनीहरूबीच तीन वर्षदेखि प्रेमसम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए। प्रेमसम्बन्धमा खटपट आएपछि हत्याको तहसम्म पुगेको पाइएको उनको भनाइ छ। रोजगारीका सिलसिलामा कुवेत पुगेका दुवैजनाको तीन वर्षअघि उतै प्रेमसम्बन्ध सुरु भएको थियो। ‘कुवेत बसाइमा प्रेमसम्बन्धमा रहेका उनीहरूबीच नेपाल आएपछि खटपट भएको अनुसन्धानमा देखिन्छ,’ पाण्डेले भने।
प्रहरीका अनुसार कुवेतमा रहँदा तुलसाले सुनीलको निकै पैसा खर्च गरेको र केही रकम लिएर नेपाल आएको सुनीलले बताएका छन्। सुनीलभन्दा केही महिनाअघि तुलसा नेपाल आएकी थिइन्। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मरासिनीका अनुसार तुलसा एक वर्षअघि कुवेतबाट नेपाल आएकी थिइन्। कुवेतबाट धेरै पैसा लिएर आएकी तुलसाले अर्कै केटासँग विवाह गर्न लागेको हल्ला सुनेपछि सुनील आक्रोशित बन्दै आएका थिए। ‘अर्कै युवकसँग विवाह गर्न थालेको थाहा पाएपछि सुनीलले हत्याको योजना बनाएर नै एसिड प्रहार गरेको देखिन्छ,’ पाण्डेले भने।
 
Top