डडेल्धुरा, फागुन ४ । डडेल्धुरा सदरमुकाम नजिकै भएको जीप दुर्घटना मृत्यु हुनेको संख्या ७ पुगेको छ भने दुर्घटनामा ज्यान गुमाएका सबैको सनाखत भएको छ ।
जिल्लाको भागेश्वरबाट सदरमुकाम तर्फ आउँदै गरेको उग्रतारा यातायातको से १ ज ८३३ नम्बरको जीप बिहान साढे ११ बजेतिर आईतबजार नजिकै दुर्घटनामा पर्दा पाँच जनाको घटना स्थलमै मृत्यु भएको हो भने दुई जनाको उपचारको क्रममा उपक्षेत्रीय अस्पताल डडेल्धुरामा मृत्यु भएको हो ।
मृत्यु भएका मध्ये सातै जनाको सनाखत भएको छ । घटनास्थलमै मृत्यु हुनेमा भागेश्वर ८ का गणेश सार्की, भागेश्वर ४ का जयानन्द भट्ट र उनकै छोरा लक्ष्मण भट्ट रहेको छन् । त्यस्तै घटना स्थलमै मृत्यु हुनेमा भागेश्वर ५ का कामदेव चटौत र सोही ठाउँका नरपति पाण्डेय रहेका छन् ।
यस्तै भागेश्वर ५ का दिवाकर पाण्डेय र भागेश्वर ७ का पदम बहादुर मल्लको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको डडेल्धुरा प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक प्रेम बहादुर शाहीले जानकारी दिएका छन् ।
सदरमुकामबाट ५ किलोमिटर टाढा रहेको ठूलो खोला भन्ने ठाउँमा भएको दुर्घटनामा अन्य ६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घाईते हुनेहरुमा बगरकोट ४ का सोही गाडि धनी भीम सिंह ठगुन्ना, भागेश्वर ४ का रामेश्वर भट्ट, बैतडी श्रीकेदार ७ का किशोर भट्ट, भागेश्वर ४ की जानकी भट्ट, भागेश्वर स्वास्थ्य चौकीमा अहेब रहेका कञ्चनपुरको झलारीपिलाडि नगरपालिका ७ का मदन साउद रहेका छन् । जीप चालक शेर बहादुर खडायत पनि घाईते छन् । घाईतेहरुको घाँटी माथि र डाढमा चोट लागेको छ । उनीहरुको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भईरहेको छ ।
दुर्घटनामा परेको बोलेरो जीपमा चालक सहित १३ जना रहेको बुझिएको छ । जीप सडक बाट करिब १३० मिटर तल खसेको छ । दुर्घटनाको कारण भन्ने खुल्न सकेको छैन् ।
