चितवन- नेपालकै सर्वाधिक ठूलो चोरी मानिएको नारायणगढ बजारको मुख्य क्षेत्र सहिदचोक नजिकको सुन पसलबाट तीन किलो सुन र १० किलो चाँदीसहित नगद हराएको चार दिन पूरा हुँदा पनि चितवन प्रहरीले घटनाको सत्यतथ्य के हो मेसो पाउन सकेको छैन। बिहीबार साँझ बन्द गरेको पसल शुक्रबार बिहान सबेरै खोलेर हेर्दा सुन, चाँदी र नगद गायब थिए। यो चोरी नै हो या अन्य केही भएको हो चितवन प्रहरी रहस्य खोतल्न जुटिरहेको छ।

भरतपुर उपमहानगरपालिका वडा नं. ३ सहिदचोक हङकङ बजारमा रहेको आधुनिक सुन चाँदी पसल ४० वर्ष पुरानो पसल हो। दुई वर्षअघि हङ्कङ बजारमा सरेको सो पसल त्यसअघि त्योभन्दा केही पर बालकुमारी स्कुल चोकमा थियो। नौं वर्षअघि पसल बन्द गर्ने बेलामा आक्रमणको प्रयास भए पनि अरु बेला कुनै खालका घटना नभएको सञ्चालक विकास बर्माले बताए।

बिहीबार बिहे भोजको निम्ता मान्न जानुपर्ने भएका कारण विकासले साँझ पौने सात बजे पसल बन्द गरेका थिए। पसलका अरु सटर भित्रबाट बन्द गरे पनि भित्र बाहिर गर्ने सानो सटरको दुवैतिर बाहिरबाटै ताला लगाउने विकासले बताए। शुक्रबार बिहान विकासका भाइ गोविन्द बर्मा पसल खोल्न आएका थिए। सटरमा एकातर्फ मात्रै ताला लगाएको थियो।

'त्यो ताला पनि हाम्रो नभएर अर्कै थियो। भाइले दौडिदै गएर बताएपछि आएर पसल खोलेर हेर्दा गहना राखेका सेफ र पैसा राख्ने काउण्टर तोडफोड गरेको भेटियो,' विकासले भने। साँझ प्राय सात सवा सातभित्र पसल बन्द गर्ने चलन थियो। त्यस्तै बिहान खोल्ने बेलामा पनि प्राय भाइ गोविन्द जाने गरेको विकासले बताए।

चितवन प्रहरीले दिएको जानकारीअनुसार सो पसलबाट सुन र सुनका गहना ३०५ तोला हराएको छ। त्यस्तै चाँदी र चाँदीका गहनाहरु १० किलो हराएको छ। काउन्टरमा राखेको साढे सात लाख रुपैयाँ पनि हराएको चितवन प्रहरीले दिएको विवरणमा उल्लेख छ। सुन जोख्ने इलेक्ट्रिक तराजु पनि गायब छ।

प्रहरीको विवरणलाई आधार मान्दा पनि एक करोड ७० लाख रुपैयाँको सुन चोरी भएको छ। चाँदी र थप नगदसमेत गर्दा दुई करोड रुपैयाँको हाराहारीमा चोरी भएको देखिन्छ। 'सुन पसलमा यसरी यति धेरै परिमाणमा चोरी भएको चितवनमा मात्रै नभएर सायद नेपालकै पहिलो घटना हो,' नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष तथा महासंघका उपाध्यक्ष विपिन रामुदामुले भने।
 
Top