भन्छिन्- इज्जत बेचेको होइन, चटपटे बेच्दा किन लजाउनू ?
१ फागुन, युएई । आफूले काम गरिरहेको कम्पनीले कामदार सप्लाई गर्न नसकेपछि दमक झापाकी तारा पोखरेललाई संकट आइलाग्यो । केही वर्ष परदेशमा दुःख गरेर परिवारको आर्थिक अवस्था दरिलो बनाउने सपनासहित दुबई आएकी पोखरेलले ऋण तिरी नसक्दै नेपाल फिर्नुपर्ने भयो ।
तैपनि ताराले हिम्मत हारिनन् । उनले कम्पनीका मालिकलाई आफ्नो समस्या बताइन् । कम्पनी मालिक अलि उदार परेछन् र उनले दुबईमै नयाँ काम खोज्ने समय पाइन् ।
नयाँ कामको खोजीमा ताराले निकै दौडधुप गरिन् । आफन्त र साथीभाइलाई गुहारिन् । कामको खोजीमा उनले तीन महिनासम्म पाउनुसम्मको दुःख पाइन् ।
काम खोज्ने क्रममा कहिले अबुधाबी त कहिले सारजहासम्म धाउँदा उनी थप ऋणमा डुबिन् । त्यसै बेला बिरामीले गर्दा ओछ्यानमै थला परेर १० दिनसम्म कष्टकर समय गुजारिन् ।
यी तीन महिना ताराका लागि तीन जुनीसरह महसुुस भयो । सामान्य साक्षर उनले कमाएको सबै पैसा नयाँ कामको खोजीमै सिध्याइन् । अहिले उनी ती दुःखका दिनहरु सम्झँदै भन्छिन्, ‘दुःख भनेको त भगवानले लिने परीक्षा पो रहेछ !
दुबईमा ताराका साथीसंगीहरु प्रशस्तै थिए । हिम्मतवाली, सोझी, आत्मविश्वासी अनि इमानदार पोखरेललाई काम खोज्न केहीले सहयोग गरे । उनी आवद्ध जिल्ला समाजले सहयोगको प्रस्ताव गर्दा उनले ‘आफ्ना हातखुट्टा चलुञ्जेल सहयोग नलिने’ जानकारी दिइन् । मागेर खानुभन्दा गरेर खानुपर्छ भन्ने मान्यता भएकी पोखरेलले अन्ततः नयाँ काम सुरु गरिन् । अर्थात् उनले नेपालीहरुको बाक्लो उपस्थिति हुने स्थल बरदुबई वरपरको क्षेत्रमा चना चटपटे बेच्न थालिन् ।
शुक्रबारे साप्ताहिक बिदाका दिनमा जहाँजहाँ नेपालीहरुको बाक्लो उपस्थिति हुन्छ, पोखरेल त्यहीँत्यहीँ पुग्छिन् । बरदुबईको मेट्रोपार्कदेखि क्यारिफोरको हरियो डाँडोमा पनि उनलाई देख्न सकिन्छ ।
साथीभाइ तथा आफन्तहरुको भेटघाटका लागि दुबईमा ‘नेपाली चोक’ कै रुपमा ख्याति कमाएको बरदुबईलाई नै यी नेपाली चेलीले आफ्नो कार्यक्षेत्र बनाएकी छिन् ।
समूहमा रत्तिएर दोहोरी गीत गाउनेदेखि पि्रति लाउनेहरुको केन्द्र बनेको बरदुबई वरपरि डुलिरहेकी पोखरेल भने नत गीत गाउन जान्छिन् न त पि्रत लाउन नै । उनी त्यहाँ चटपटे बेचिरहेकी हुन्छिन् । चना, मुरई, आलु, प्याज, धनियाँ, झुरमुरे र कागतीको अमिलो मिसाएर उनी आफैंले कोठामा तयार पारेको चना चटपटे बेचेर अतिरिक्त कमाइ गरिरहेकी छिन् ।
