
फोटो क्याप्सन ः हात्तीबाङको उपस्वास्थ्य चौकीमा आफैले जन्माएको छोरासँग सरिता ।
यसो गर्दा आमा र बच्चा दुबैको स्वास्थ्यका लागि खतरा हुन्छ । तर, सरिता चेपाङ भने बल्लबल्ल स्वास्थ्य केन्द्र आइपुगिन् र बच्चा जन्माएर सरकारले दिने सुविधा पनि लिएर घर फर्किन् ।
बाटो घाटोको सुविधा भएको, गाडी चल्ने सुविधा सम्पन्न ठाउँमा बसेको भएर पनि उनी स्वास्थ्य केन्द्र आएकी होइनन् । सुत्केरी व्यथाले च्यापेपछि श्रीमान डोलबहादुर चेपाङले डोकेमा बोकाएर उनलाई घरबाट हिँडाए । बिहान १० बजेभन्दा अघि नै काउलेको हपनीबाट हिँडेका उनीहरु हात्तीबाङको स्वास्थ्य चौकी आउँदा दिउँसोको दुई बजेको थियो ।
‘चेपाङ समुदायमा यस्तो दृश्य कमै देख्न पाइन्छ’ स्वास्थ्य चौकीकी अनमी बसुन्धरा पराजुलीले भनिन् । कम उमेरमा बिहे गर्ने, चाडै नै बच्चा जन्माउने र धेरै बच्चा जन्माउने चलन चेपाङ समुदायमा व्याप्त छ । हात्तीबाङ बरपरकै गाउँमा पनि १३÷१४ वर्षकै उमेरमा बिहे गरेर २०÷२१ वर्षको उमेरमा चार पाँचवटा बच्चा जन्माउने दम्पतीहरु प्रसस्तै भेटिन्छन् ।
गर्भवती भएपछि कम्तिमा चार पटक स्वास्थ्य जाँच गराउने र सुत्केरी हुने बेलामा स्वास्थ्य केन्द्रसम्म आउने परिपाटी बारे धेरै अनभिज्ञ छन् । अझै सुत्केरी हुने बेलामा घर बाहिर जंगलको झाडीमा दौडिने चलन कायमै छ । यस विपरीत डोलबहादुर र सरिताले बिहे नै परिपक्क उमेरमा २० वर्ष कटेपछि गरे । गर्भवती हुँदा गाउँ नजिकैको स्वास्थ्य केन्द्रमा जाँच गराए । जाँच केन्द्र पनि घरबाट आधा घण्टा टाढा थियो ।
सुत्केरी व्यथा लागेपछि डोकोमा बोकेर डोलबहादुरले सरितालाई बर्थिङ सेन्टरसमेत सञ्चालन गरेको उपस्वास्थ्य चौकीमा ल्याए । फर्कने बेलामा सरिताले सरकारले दिने ५०० रूपैयाँ भत्ता बुझिन । स्वास्थ्य केन्द्रमा आएर सुत्केरी हुनेलाई सरकारले यस्तो भत्ता दिने गर्छ ।
‘यस बाहेक बच्चाका लागि दुईवटा भोटो, दुईवटा चोलो, हात खुट्टामा लगाउने एक एक जोर न्यानो मोजा र पञ्जा दियौं । आमालाई ऊनको लामो म्याक्सी पनि दियौं’ अनमी बसुन्धरा पराजुलीले भनिन् । यी कपडाहरु पनि स्वास्थ्य केन्द्रमा बच्चा जन्माउनेहरुलाई सरकारले दिने व्यवस्था गरेको छ । सुत्केरी भएपछि आमा र बच्चालाई लगाइ दिने न्यानो कपडासमेत नहुने चेपाङहरु धेरै नै छन् ।
‘यहाँ बर्थिङ सेन्टर सञ्चालनमा आए पनि सुत्केरी हुन आउनेहरु कमै छन् । त्यसमाथि चेपाङ समुदायका झनै कम आउँछन् । महिनामा चार पाँचजना देखि १५ जनासम्म यहाँ सुत्केरी हुन आएको अवस्था छ’ अनमी पराजुलीले भनिन् । डोलबहादुर र सरिता किन धाइधाइ आए त ‘यो शिक्षा र चेतनाका कारणले गर्दा भएको हो’ अनमी पराजुलीले उत्तर दिइन् ।
चेपाङहरु पछाडि परेका समुदाय हुन् । तर सबै चेपाङ स्वास्थ्य प्रति सजग नभएको भने होइन । डोलबहादुर र सरिताले यही कुरा देखाएका छन् । शिक्षा र चेतना फैलाउँने हो भने स्वास्थ्य सेवा लिन जो पनि तयार हुने यसबाट पुष्टि भएको छ ।