रत्ननगर,२७ माघ।
कालिका नगरपालिका–९ पदमपुरका बाबुराम तिवारी बुधबार गाउँबाटै विद्युत् महसुल भुक्तानी गर्न पाउँदा निकै खुसी देखिन्थे । पदमपुरदेखि टाँडीसम्म धाएर महसुल वुझाउनु पर्दाको पीडा हराएको महसुस गरेका तिवारी गाउँमै सेवा पाउँदा दंग थिए ।
“महसुल बुझाउन एक दिनै लाग्थ्यो”, तिवारीले खुसी हँुदै भने, “घर गाउँबाटै सेवा पाउँदा एक दिन लाग्ने काम १० मिनेटमै भयो, खर्च र समयको पनि बचत भयो ।” तिवारी मात्रै होइन अब कालिका नगरपालिका क्षेत्र र पहाडी केही गाविसका स्थानिय विद्युत् महसुल बुझाउन टाँडी नै धाउनुनपर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरण टाँडी वितरण केन्द्रले कालिका नगरपालिका–७, खोलेसिमलमा महसुल भुक्तानी काउन्टर स्थापना गरेपछि यस क्षेत्रका स्थानीयलाई राहत मिल्ने भएको हो ।
सो काउन्टरबाट रत्ननगरका केही वडा, कालिका नगरपालिका, दाहाखानी, सिद्धी गाविसका विद्युत्का ग्राहकहरुले सेवा लिन पाउनेछन् । दाहाखानी, सिद्धीदेखि महसुल वुझाउनकै लागी टाँडी आउनुपर्ने वाध्यतालाई मध्यनजर गर्दै टाँडी वितरण केन्द्रले खोलेसिमलमा काउन्टर स्थापना गरेको केन्द्रका प्रमुख सुरेशकुमार महतोले जानकारी दिए । महसुल भुक्तानीकै लागि टाँडी धाउनु पर्दा यस क्षेत्रका ग्राहकलाई खर्च, समयको व्यवस्थापन समस्या हुदै आएको थियो । “विद्युत् महसुल बुझाउनकै लागि अब टाँडी धाउनुपर्दैन”, टाँडी केन्द्रका प्रमुख महतोले भने, “यसबाट समयको बचत हुनुका साथै खर्च पनि घट्ने भयो ।”
टाँडीबाट दाहाखानी करिब ३० किलोमिटरको दूरीमा पर्छ । दूरी टाढा हुनु मात्रै होइन, महसुल भुक्तानी गर्न घण्टौं लाइनमा बस्नसमेत त्यस क्षेत्रका स्थानीय वाध्य थिए । काउन्टर सेवासंगै बिजुलीको मिटर लिनका लागि पनि टाँडी पुग्नुनपर्ने भएको छ । यहीं निवेदन दिए मिटर उपलब्ध हुने टाँडी वितरण केन्द्रका ईन्जिनियर प्रितमराज विष्टले जानकारी दिए । करिब १० वर्ष अघिदेखि जनताले गरेको मागले ढिलै भएपनि मुर्तरुप पाउनु यस क्षेत्रका ग्राहकका लागी खुसीको कुरा भएको ईन्जिनियर विष्टले बताए ।
खोलेसिमल जुटपानी काउन्टरको बुधबार एक कार्यक्रमबीच नेपाल विद्युत् प्राधिकरण हेटौंडा क्षेत्रीय कार्यालयका प्रमुख पद्मकान्त झाले पमदपुरका बाबुराम तिवारीको महसुल रकमको बिल काटेर उद्घाटन गरे । सो अवसरमा क्षेत्रीय प्रमुख झाले क्रमिकरुपमा अन्य सेवा सुविधा पनि विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाए ।
टाँडी शाखा प्रमुख सुरेशकुमार महतोको अध्यक्षतामा भएको काउन्टर उद्घाटन कार्यक्रममा खोलेसिमल बजार व्यवस्थापन समितिका अध्यक्ष हरि भण्डारी, नेपाल रेडक्रस सोसाईटी उपशाखा खोलेसिमलका निवर्तमान अध्यक्ष गणेश शर्मा पौडेल, प्राधिकरणका कर्मचारी ऋषिकेश लम्साललगायतले मन्तव्य व्यक्त गरेका थिए । खोलेसिमलमा स्थापना भएको काउन्टरबाट यस क्षेत्रका १२ हजार ग्राहक लाभान्वित हुनेछन् । यसअघि खोलेसिमलमा फ्युज सेवा प्रदान गर्दै आइरहेको थियो । नेपाल विद्युत् प्राधिकरण टाँडी वितरण केन्द्रले करिब २ वर्षअघि ग्राहकको सुविधालाई मध्यनजर गर्दै पूर्वी चितवनको भण्डारामा विद्युत् महसुल भुक्तानी काउन्टर स्थापना गरेको थियो
साभार : खबर चितवन
