काठमाडौं, १५ फागुन । निर्वाचनको घोषणा भएसँगै नेकपा एमालेमा प्रवेशको लहर चलेको छ । विभिन्न जिल्लाबाट राजधानी आएर धुम्वाराहीस्थित केन्द्रीय कार्यालयमा औपचारिक कार्यक्रममार्फत दिनदिनै पार्टी प्रवेश गर्नेको संख्या पनि बढेको छ ।
यो क्रम अब तराईमा पनि सुरु भएको छ । जहाँ एमालेलाई व्याण्ड बाजासहित विदाई गर्ने भनिएको थियो । तर, अब परिस्थिती बदलिएको छ । व्याण्ड बाजासहित विदाई गर्छु भन्ने पार्टीका केन्द्रीय नेता नै एमाले प्रवेश गरेका छन् ।
एमालेले लिएको राष्ट्रियताको अडान सही भएको चेतना जागेपछि उनीहरु पार्टी प्रवेश गरेको रौतहटका एमाले सासंद् रामकुमार भट्टराई बताउँछन् । उनका अनुसार आइतबार रौतहट जिल्लाको गौरमा आयोजित कार्यक्रममा स्वतन्त्र बुद्धिजीवी शम्भु शाह, विद्धु सिंहसहित पाँच सय ७१ जनाले एमाले प्रवेश गरेका छन् । समाजसेवी साह गौरका प्रभावशाली व्यक्ति मानिन्छन् ।
पार्टी प्रवेश गर्नेमा मधेस आन्दोलनको धम्की दिइरहेका तराई–मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतोले नेतृत्व गरेको दल सद्भावना, संघीय समाजवादी फोरमलगायत दलका केन्द्रीय र जिल्ला तहका नेताहरु छन् । त्यसैगरी सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका नेता कार्यकर्ता पनि छन् ।
नवप्रवेशीलाई वरिष्ठ नेता नेपालले गरे स्वागत
एमालेले फागुन २१ देखि गर्न लागेको मेची–महाकाली अभियानको पूर्वसन्ध्यामा तराईमा ठूलो संख्यामा पार्टी प्रवेश नवप्रवेशीलाई एमाले वरिष्ठ नेता माधवकुमार नेपालले टिका र खाँदा लगाएर स्वागत गरे ।
मधेस आन्दोलनपछि पहिलोपटक गौरमा आइतबार वरिष्ठ नेता नेपालकै प्रमुख आथित्यमा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेपछि तराई–मधेसमा एमालेको पक्षमा नयाँ माहोल सिर्जना भएको सांसद भट्टराई बताउँछन् ।
