वीरगन्ज : दुबईमा बसी नेपाली र भारतीय नागरिकहरु परिचालन गरी आतंकवादी गतिविधि सञ्चालन गरेको आरोप लागेका नेपाली नागरिक समसुल होदा सहित चार जनालाई बारा प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी कलैयामा सार्वजनिक गरेको छ।

प्रहरीले विभिन्न अपराधका मुख्य योजनाकार बारा परशुरामपुर–४ घर भई अस्थायी रुपमा कलैया–८ बसपार्क टोल बस्ने ४८ वर्षीय समसुल होदा, कलैया–नगरपालिका–१० का ३५ वर्षीय सुमो चालक मोजाहिर अन्सारी, आपराधिक कार्यमा फोन सम्पर्क भएका व्यक्ति कलैया–४ का २४ वर्षीय आशिष सिंह र २३ वर्षीय उमेश कुर्मीलाई प्रहरीले सार्वजनिक गरेको हो। उनीहरुसँगै संलग्न बारा महागढीमाई–१ सेमरातेगछियाका २७ वर्षीय गिरीबाबा भनिन्ने वृजकिशोर गिरीको भने काठमाडौंमा उपचार भइरहेको छ। पुस २४ गते गिरीलाई पर्सा बिजवनिया गाउँबाट ६ राउन्ड गोली प्रहार गरी प्रहरीले पक्राउ गरेको थियो भने पुस १५ गते अन्य मोजाहिर, आशिष र उमेश पनि पक्राउ परेका थिए।

नेपाली नागरिकको संलग्नतामा आतंकवादी समूह सक्रिय रहेको खुलेपछि प्रहरीको विशेष ब्युरोले अनुसन्धान शुरु गरेको थियो। ब्युरोको अनुसन्धानमा होदा भारतीय नक्कली रुपैंया कारोबारमा ब्युरको निगरानीका ब्यक्ती भएको र उनी दुबईमा पुगेको खुलेपछि ब्युरोले होदाको सम्पर्कमा रहेका ब्यक्ती मार्फत उनलाई नेपाल फर्काउन पहल गरेको थियो।

भारतीय सुरक्षा निकायले समेत खोजी गरिरहेका होदा आफैं शनिबार नेपाल आएपछि ब्युरोले पक्राउ गरेर प्रारम्भिक बयान सकाएर मुद्दा प्रकृयाका लागी बारा पठाएको थियो।
 
Top