काउले । व्यावसायिक बाख्रा र कुखुरापालनमा चेपाङ महिलाहरु पनि अग्रसर हुन थालेका छन् । बाख्रा कुखुरा पाल्न आवश्यक हुने उपयुक्त खोर र तिनलाई हुर्काउन आवश्यक पर्ने खोप र पोषणका विधि बारेमा पनि उनीहरु जानकार छन् । यो कामका लागि आवश्यक पर्ने आर्थिक स्रोतको जोहो पनि उनीहरुले आफैँ गरेका छन् ।
सुनिता चेपाङको घर खरले छाएको छ । तर उनले जस्ताले छाएको एउटा सानो टहरो भर्खर बनाएकी छन् । चितवनको पहाडी गाविस काउलेको वडा नं. ३ तारसेलिङकी सुनिताले सो टहरो आफू बस्नलाई नभएर ब्रोइलर कुखुरा पाल्नका लागि बनाएकी हुन् । खोरमा बिछ्याउने धानको मोटो भुस (डडाल्नो) पनि ल्याइसकेकी छन् । अब केही दिनभित्रै खोरमा चल्ला हाल्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
‘पहिलो पटक पाल्न लागेको हो, त्यसैले सयवटा चल्ला राखेर सुरू गर्दैछु । विस्तारै बढाउँदै लैजाउँला’ सुनिताले भनिन् । उनको गाउँनजिकै काउलेको केन्द्र हात्तीबाङ रहेको छ । चितवनको सबैभन्दा अग्लो डाँडो सिराइचुलीबाट सूर्योदय हेर्न आउने पर्यटकहरु हात्तीबाङका होटल र होमस्टेमा बस्ने गर्दछन् । उनीले पालेका कुखुराहरु हात्तीबाङमा बिक्री हुने सम्भावना छ ।
‘हात्तीबाङका होटलमा र वरपर गाउँमा पनि बिक्री हुने अवस्था देखेर कुखुरा पाल्न रहर गरेकी हूँ’ सुनिताले भनिन् । तारसेलिङकी अञ्जु चेपाङ बाख्रा पाल्न अग्रसर भएकी छन् । उनको गोठमा चारवटा साना खाले स्थानीय जातका गाई थिए । गाइले भन्दा बाख्राले फाइदा हुने देखेपछि उनी बाख्रा पाल्न लागेकी हुन् । त्यसो त उनले पहिला पनि बाख्रा नपालेकी होइनन् तर अहिले फरक ढंगले सुरू गर्दैछन् ।
‘खेतका लागि चाहिने गोबर मलका लागि गाई पाल्यो बेच्दा १५ सय पनि आउँदैन थियो । मल पनि पर्याप्त नहुने । जति गाई पाल्यो त्यति नै बाख्रा पाल्दा मल पनि धेरै आउने, बेच्दा पैसा पनि बढी हुने थाहा पाएर बाख्रा पाल्न लागेकी हूँ’ अञ्जुले भनिन् । बाख्रोको खोर सुधार गरेपछि मल पनि धेरै जम्मा हुने र बाख्रालाई सुविस्ता हुने भएपछि राम्रोसँग हुर्कने उनले बताइन् ।
यसका साथै स्थानीय जातको बोको नभएर गाउँमा खरी जातको बोको ल्याइएको छ । जसका कारण जन्मेका खसीबाख्रा ठूला हुने र मूल्य पनि राम्रो पाइने उनले बताइन् । बाख्रा पाल्दा अपनाउनु पर्ने सावधानी र बेला–बेलामा दिनुपर्ने नाम्ले जुकाको औषधिका बारेमा पनि उनलाई ज्ञान भएको छ । त्यसैले बाख्रा पालेर फाइदा हुनेमा उनी विश्वस्त देखिएकी हुन् ।
काउले गाविसकै वडा नं. ४ राक्सिराङ गाउँकी गोमा चेपाङले पनि अञ्जुले जस्तै सीप सिकेर बाख्रा पाल्न सुरू गरेकी छन् । चेपाङ समुदाय परम्परागत रुपमा खोरिया फाँड्दै वनको पाखा पखेरोमा खेती गर्दै आएको आदिवासी समुदाय हो । जसको उब्जनीले पर्याप्त खान नपुग्दा उनीहरु वनमा पाइने कन्दमुलको पनि सहारा लिने गर्दछन् ।
भरतपुरमा रहेको नेपाल ग्रामीण आत्मनिर्भर अभियान (रुसेक) नामक संस्थाले काउलेका यी दुई गाउँमा चेपाङ समुदायलाई व्यावसायिक पशुपालनमा सरिक गराउने अभियान सुरू गरेको हो । असारदेखि सुरू भएको अभियानअन्तर्गत छवटा समूह गठन भएका छन् । छवटै समूहमा रुसेकले उन्नत जातको बोका दिएको छ ।
समूहले बचत संकलन सुरू गरेका छन् । महिनाको २५ रुपैयाँबाट सुरू भएको बचत संकलन अहिले ५० रुपैयाँ हुने गरेको छ । छवटा महिला समूहमा १८८ घरधुरी समेटिएका छन् । ब्रोइलरपालनका लागि सुनिता र बाख्रापालनका लागि गोमा तथा अञ्जुली समूहबाटै ऋण लिएका हुन् । ‘समूहमा बचत गरेका कारण अहिले थपथाप गर्न निकै मद्दत पुग्यो’ सरिताले भनिन् ।
‘चेपाङ समुदायको आर्थिक, समाजिक अवस्था सन्तोषजनक छैन । उनीहरुको अवस्थामा सुधार ल्याउने हाम्रो प्रयास हो । महिलाहरुलाई नै हामीले आर्थिक गतिविधिमा सक्रिय हुन प्रेरित गरेका छौं । यसो हुँदा फलदायी परिणाम आउने आशा छ’ रुसेकका अध्यक्ष रविकिरण पौडेलले भने ।

साभार : चितवन पोष्ट दैनिक 
 
Top