भरतपुर, ७ फागुन ।
रोजगारीको सिलसिलामा जापान रहेका चितवन रत्ननगरका दीपकबाबु नेपालले चितवनका शैक्षिक क्षेत्रमा सहयोग गरेका छन् । सिद्धार्थ रेमिटमा सदस्य बनाएवापत आफूले प्रोत्साहन स्वरुप पाएको रकम उनले विभिन्न ९ वटा संस्थालाई प्रदान गरेका छन् । उनलाई हालै सिद्धार्थ रेमिटले १ लाख १५ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिएको थियो ।
यसअघि नै ६ वटा संस्थालाई सहयोग गरेका उनका तर्फबाट आमा टीकाकुमारी नेपालले शनिबार दुई संस्था र एक बिरामीलाई सहयोग हस्तान्तरण गरिन् । शनिबार बिहान रत्ननगरमा आयोजित कार्यक्रममा उनले गामवेशी चेपाङ संरक्षण केन्द्रलाई १५ हजार र सेतो रगत कम हुने रोगले ग्रस्त तनहुँ दमौलीकी आशा अधिकारीको परिवारलाई १० हजार प्रदान गरिन् । त्यस्तै शनिबार दिउँसो भरतपुरमा आयोजित कार्यक्रममा टीकाकुमारीले हामीले नगरे कसले गर्ने ? संस्थालाई नगद रु. २० हजार प्रदान गरिन् ।
नेपालले गामवेशीका अध्यक्ष केपीकिरण शर्मालाई र हामीले नगरे कसले गर्नेका अध्यक्ष विनोदबाबु रिजाललाई र आशाकी आमालाई रकम हस्तान्तरण गरिन् । छोराको पहिलेदेखिकै समाजसेवाप्रतिको लगावबाट आफू प्रसन्न रहेको उनले बताइन् ।
यसअघि दीपकले पूर्वी चितवनमा रहेको नेपाल उच्च माध्यमिक विद्यालय, रत्ननगर–१४ स्थित द्वारिकादास माध्यमिक विद्यालय, राप्रावि अमिलिया, टाँडीमा रहेको सानो घर र खैरहनी उच्च मावि जन्मोत्सव तथा स्मृति छात्रवृत्ति अक्षय कोषलाई सहयोग गरिसकेका छन् ।
जापानमा रोजगारी गरेपनि सामाजिक विकासका लागि नेपालले विभिन्न अभियान सञ्चालन गरेर दुःखी नेपालीलाई सहयोग जुटाउँदै आएका छन् । हामीले नगरे कसले गर्ने ? संस्थाका अन्तर्राष्ट्रिय संयोजकसमेत रहेका नेपालले सामाजिक क्षेत्रमा सहयोग गर्दा आत्मसन्तुष्टि मिल्ने बताए ।
नेपालले जापानदेखि आफÞ्नो जन्मभूमि नेपालसम्म विभिन्न तरिकाले सेवा र सहयोग गर्दै आएका छन् । रोजगारीका लागि जापान गएपनि कामसँगÞै समाजसेवा तथा अरुको दुःखमा सहयोग गर्न सक्रिय छन् । जापानमा समस्यामा परेका नेपालीलाई पनि विभिन्न अभियान सञ्चालन गरेर सहयोग जुटाइसकेका छन् ।
यसैबीच सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल–जापान विद्यार्थी समाजका अध्यक्ष सन्तोषबाबु चोखालले नेपाली विद्यार्थीलाई ठूलो सपना बोकेर जापान नजान अनुरोध गरेका छन् । उनले नेपाली विद्यार्थीलाई भाषाको समस्या हुने गरेको भन्दै राम्रोसँग भाषा नसिकी जाँदा दुःख पाउने गरेको बताए ।
साभार : खबर चितवन
