गाउँका सबैभन्दा साहु कहलिएका टेकबहादुर चेपाङको घरमा अन्न सकिएको निकै भइसक्यो । घरमा भएकालाई नै खानेकुरा छैन । बाहिरबाट पाहुना आउँछन, जो पाहुना आए पनि बास बस्ने घर टेकबहादुरकै हो । पाहुनालाई खाना खुवाउन नसकेर उनी सधै निराश हुन्छन् । जीवनभर कन्दमूल खोजेर साँझ बिहानको खानेकुरा जुटाउँदैमा मर्ने बेला भइसकेको ८० वर्षीय टेकबहादुरको भनाइ छ ।
दक्षिणी धादिङको महादेवस्थान गाविस– ३ बु्रसबाङका चेपाङ समुदायलाई वर्षको नौ महिना खानेकुराको संकट पर्ने गर्दछ । घरमा खानेकुरा सकिएपछि बेथेको साग र सिस्नुको मुन्टामा मकैको पिठो हालेर बनाएको खोले र कन्दमूलको भरमा छाक टार्नुपर्ने बाध्यता ब्रुसबाङबासीमा छ ।
हरेक दिन बिहान बच्चाहरू बेथेको साग खोज्दै हुन्छन् भने पाको उमेरकाहरु झाडीमा सिस्नो टिप्दै र जंगल तिर गएर कन्दमूल खोज्दै गरेको देखिनु यस बस्तीको दैनिकी जस्तै बनेको छ । ‘बिहान भएपछि अलि ठूलाहरू जङ्गलतिर गिठ्ठा भ्याकुर खोज्न हिँड्छन, महिला र केटाकेटी घर नजिकै सिस्नु, टाँकीको मुन्टा र बेथेको साग खोज्ने गर्दछन् । महिलाको मुख्य काम भने घरमा पानी ल्याउनु बनेको छ । पानी लिन गाउँ देखि तीन घण्टा तल झनुपर्ने भएकाले एक गाग्री पानीको लागि बिहान बित्ने गरेको छ । ’ स्थानीय अगुवा टेकबहादुरले बताए ।
गाउँको अवस्था दयनीय बन्दै गएको गाउँबासीको गुनासो बढ्दै गए पनि सरकारी तथा गैरसरकारी निकाय यसप्रति मौन छन् । एकतीस घर चेपाङ समुदायको बसोबास रहेको ब्रुसबाङ पुग्न पृथ्वीराजमार्गको मलेखुबाट दुई घण्टाको गाडीको यात्रा र पाँच घण्टाको उकालो पैदलयात्रा पार गर्नुपर्छ ।
महाभारतको डाँडामा खोरिया फाँडेर पुस्तौँदेखि बसोबास गर्दैआएका चेपाङलाई आफ्नो उत्पादनले खान नपुग्ने भए पनि उनीहरू आफ्नो थलो छाडेर बसाइँ जानसकेका छैनन् । गाउँमा खानेकुरा र पिउने पानी नभए पनि बाध्यताले गर्दा आफूहरूलाई आफ्नै जन्म गाउँ प्यारो भएको प्रेमबहादुर चेपाङले बताए ।
फागुनमा छरेको मकै कात्तिकमा पाक्छ । बाह्रै महिना जस्तो चिसो हुने यो बस्तीमा मकै र आलु खेती मात्रै हुने गर्छ । अन्य अन्नबाली नहुने र मकै पाक्न धेरै समय लाग्ने हुँदा वर्षको ९ महिना खाद्यान्न संकट पर्ने गरेको हो । आम्दानी गर्ने कुनै उपाय नभएकाले गाउँका सबैजनाको आर्थिक अवस्था निकै कमजोर रहेको छ ।
बजारमा गएर चामल किनेर ल्याउने सामथ्र्य नभएपछि जंगलमा जे भेटिन्छ त्यही खाएर बाँच्नु परेको उनीहरु बताउँछन् । ब्रुसबाङका नाममा सञ्चालन भएका गैरसरकारी संस्थाको कार्यक्रम हरेक वर्ष कागजमा सम्पन्न भए पनि गाउँबासीको जीवनस्तरमा भने खासै परिवर्तन आउन नसकेको ब्रुसबाङका चेपाङहरुको खाद्य अधिकारका निम्ति वकालत गर्दै आइरहेको खाद्य अधिकार जिल्ला सञ्जालको आरोप छ ।
 
Top