भरतपुर,१० फागुन ।
वैदेशिक रोजगारीको लागि विदेश जाने कयौं नेपाली मानव बेचविखन तथा ओसारपसारको चपेटामा पर्ने गरेका छन् । वैदेशिक रोजगारीका लागि काम गर्ने म्यानपावर तथा दलालमार्फत जाँदा मानव बेचविखनमा पर्न सक्ने सम्भावना अत्यधिक हुने गर्दछ ।

केही समयअघिसम्म महिलाहरु मात्र मानव बेचविखन तथा ओसारपसारको सिकार हुने गर्थे भन्ने ठानिन्थ्यो । तर, अहिले पुरुष पनि यसको सिकार हुने गरेका छन् । सबै वैदेशिक रोजगारी मानव बेचविखन नहुने भएपनि अधिकांश मानव बेचविखन भने वैदेशिक रोजगारीका कारण हुने गरेको मानव बेचविखन तथा ओसारपसारविरुद्ध काम गरिरहेको संस्था माइती नेपालका क्षेत्रीय संयोजक युवाराज दवाडी बताउँछन् । “वैदेशिक रोजगारी र मानव बेचविखनबीचको सम्बन्ध नङ र मासुबीचजस्तो छ” उनले भने, “वैदेशिक रोजगारी र मानव बेचविखनको बीचमा सूक्ष्म अध्ययन गर्नुपर्ने आवश्यकता छ । र हामी त्यही काममा लागेका छौं ।

कतिपय अवस्थामा मानव बेचविखनको बारेमा मानिसलाई ज्ञान नभएका कारण उनीहरु मानव बेचविखनमा पर्ने गरेको उनको भनाइ छ । वैदेशिक रोजगारी मानव बेचविखनको बारेमा मानिसहरुलाई सचेत बनाउनको लागि माइती नेपालले विभिन्न स्थानमा सचेतना केन्द्रहरुको स्थापना गरेको उनले बताए । वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सके मानव बेचविखन स्वतः कम भएर जाने दवाडीको भनाइ छ ।

तर, चितवनको सन्दर्भमा विदेश पठाउने कतिपय म्यानपावर तथा दलालहरु विनादर्ता गैरकानूनीरुपमा सञ्चालनमा रहेको हुनाले यहाँको वैदेशिक रोजगारी सुरक्षित नरहेको सुरक्षित वैदेशिक रोजगारको क्षेत्रमा काम गरिरहेको संस्था पिपुल फोरमका कानूनी सहायता अधिकृत अधिवक्ता सूर्य बोहोरा बताउँछन् । उनी भन्छन्, “वैदेशिक रोजगारी सुरक्षित हुने नहुने भन्ने कुरा व्यक्ति आफूमा भर पर्ने कुरा हो । चितवनको हकमा हेर्दा शाखा दर्ता भएका म्यानपावर नभएको हुँदा यहाँबाट हुने वैदेशिक रोजगारी पूर्णतया सुरक्षित नै हुन्छ भन्न सकिदैँन ।”

उनका अनुसार शाखा दर्ता भएको म्यानपावर चितवनमा एउटा मात्र छ । वैदेशिक रोजगारीमा जाने धेरैजसो मानिस आफ्नै लापरबाहीको कारण मानव बेचविखनमा पर्ने गरेका बोहोराले बताए । वैदेशिक रोजगारीका लागि लैजाने दलालमार्फत पनि अधिकांश मानिस मानव बेचविखनमा पर्न सक्ने उनको ठम्याइ छ । त्यसकारण वैदेशिक रोजगारीको लागि जाने जोकोही आफै सजग हुनुपर्ने उनको सुझाव छ । वैदेशिक रोजगारमा जाँदा जान लागेको देश, कामको प्रकृति, लैजाने म्यानपावर जस्ता कुराहरु श्रम सम्झौता गर्ने क्रममा नै ख्याल राख्नुपर्ने उनको भनाइ रहेको छ ।

समाजमा मानव बेचविखन तथा ओसारपसार बढ्नु र यसमा सबै लिङ्ग तथा उमेरका मानिसहरु पीडित हुनुको पछाडि यससम्बन्धी कानूनको बारेमा ज्ञान नहुनु प्रमुख रहेको छ । र यससम्बन्धी कानूनलाई सबै जनतासामु पु¥याउन नसक्नु राज्यको कमजोरी हो । “मानव बेचविखन तथा ओसारपसारसम्बन्धी कानूनलाई पठ्यपुस्तकमा नै समावेश गर्न सकिए यसको न्यूनीकरणमा निकै सहयोग पुग्ने थियो”, नेपाल बार एशोसिएशन चितवनका अध्यक्ष गोपीलाल देवकोटाले भने । ९० प्रतिशतभन्दा बढि नागरिकलाई कानूनको उचित ज्ञान नभएकोले कानूनको कार्यान्वयनमा समस्या देखिएको उनले बताए ।

मानव बेचविखनसम्बन्धी कानून नेपालमा मुलुकी ऐन बनेदेखि नै रहेकोमा २०६४ सालमा ‘मानव बेचविखन तथा ओसारपसार ऐन २०६४’ को रुपमा यसको विशेष कानून आएको छ । सो ऐनको ३ र ४ दफाले मानव बेचविखन सम्बन्धमा बहुक्षेत्रीय, बहुअधिकार र हद म्यादविहीन अर्थात जहिलेसुकै मुद्दा लाग्न सक्ने व्यवस्था गरेको छ । साथै सो ऐनले पीडितलाई क्षतिपूर्ति तथा अपराधीलाई सजायको व्यवस्था पनि गरेको छ । यसमा अधिकतम सजाय २० वर्षसम्म कैद तथा पाँच लाख रुपैयासम्मको जरिवानाको व्यवस्था गरिएको छ । मानव बेचविखनमा सहयोग गर्नेहरुलाई पनि सो ऐनले सजाएको व्यवस्था गरेको छ ।

मानव बेचविखनलाई न्यूनीकरण गर्नको लागि समाज र हरेक व्यक्ति आफै नै सचेत हुनुपर्ने दवाडीको भनाइ छ । यसमा सबै तह र तप्काका निकायहरुको सहकार्य नभइकन यसको न्यूनीकरण सम्भव नरहेको उनी बताउँछन् । देशमा व्याप्त बेरोजगारीका कारण नेपाली समाजमा मानव वेचविखन तथा ओसारपसार बढ्दै गइरहेकोले राज्यबाट देशभित्र नै रोजगारीका अवसरहरु उपलब्ध गराउन सके समाजमा मानव वेचविखन तथा ओसारपसार स्वतः कम भएर जाने उनको राय छ ।

साभार : खबर चितवन 
 
Top