भरतपुर,१५ फागुन ।
नेपाल सरकारका भूमिसुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले नेपालमा फेरी राजतन्त्र पुर्नस्थापना हुने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेसनबाट केन्द्रीय सदस्य जितेपछि गृह जिल्लामा आयोजित स्वागत कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले भने, “राजतन्त्र नहुँदा देश बर्वादीतर्फ गयो, अब स्थापित गर्न चाहन्छौँ ।” राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्थासहितको प्रजातन्त्र राख्ने औपचारिक निर्णय गरिसकेको छ । उनले राष्ट्रलाई एकिकृत गर्ने, अरुको कब्जाबाट बचाउने राजसंस्था आवश्यक देखिएको बताए । “केहि वर्ष राम्रो हुन्छ की भनेर सहयोग ग¥यौँ”, उनले भने, “राजतन्त्र चाहिन्छ भन्ने जनताको आवाज छ, त्यहि आवाज बोकर जान्छौँ ।” उनले हिन्दु राष्ट्रको पक्षमा समेत पार्टी रहेको धारणा राखे । उनले स्थानीय तहको चुनावमा शशक्त रुपमा गाउँ गाउँमा खटिन कार्यकर्तालाई अनुरोध गरे । पार्टीको कार्यालयमा आयोजित कार्यक्रममा शनिबार उनको भव्य स्वागत गरिएको थियो । अनुशासित कार्यकर्ता बनेर जनतामुखि अभियान चलाउन उनले अनुरोध गरे । स्थानीय तहको चुनावमा पार्टीलाई चितवनमा बलियो शक्तिका रुपमा स्थापित गर्न आग्रह गरे । जिल्ला, क्षेत्रिय, नगर, वडास्तरका छलफल, भेला लगायतका चुनावी अभियान तत्काल अघि बढाउन अनुरोध गरे । जनताको फरक म्याण्डेड बोकर पार्टी हिँडेकाले जनमत प्राप्त हुने विश्वास जनाए । उनले महाधिवेशनमा भएको त्रुटिहरुको समिक्षा गर्नुपर्ने बताए । उनले केन्द्रीय नेतृत्वमा कमल थापाको विकल्प नरहेको बताए । सो अवसरमा पूर्व जिल्ला अध्यक्ष रामहरी कँडेल, क्षेत्रीय अध्यक्ष चेतनाथ वाग्ले, नगर अध्यक्ष विष्णु खराल, महिला नेतृ मिना न्यौपाने, गंगाधर चापागाई लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाको अध्यक्षतामा भएको हो । यसअघि शनिबार विहान मन्त्री पाण्डेले देवघाट वागेश्वरीमा रहेको गौ संरक्षण केन्द्रको स्थलगत अवलोकन गरेका थिए ।
साभार : खबर चितवन
