चितवन, फागुन १६–

सरकारले संविधान संशोधनको प्रस्ताव अगाडि बढाउन लाग्दै गर्दा संशोधन विधेयकमा विभिन्न माग राख्दै संशोधन दर्ता गरिएको छ । खासै विवाद नरहेको प्रदेश नम्बर ३ को चितवन मधेसी दलहरुको संशोधन प्रस्तावले विवादमा तानिएको छ । तराई मधेसमा दुई प्रदेशको पुरानै माग समेट्नुपर्ने भन्दै मोर्चाले संशोधन विधेयकमा संशोधन दर्ता गरेको छ । जस अन्तरगत चितवनका १० गाविस र निकुञ्जसहित पूर्वी तराईको एक प्रदेश तथा नवलपरासी पश्चिमदेखि कञ्चनपुरसम्मको अर्को प्रदेश बन्नुपर्ने प्रस्ताव मोर्चाले गरेको छ ।

तमलोपाका सर्वेन्द्रनाथ शुक्ला, सद्भावनाका लक्ष्मणलाल कर्ण, राष्ट्रिय मधेस समाजवादीका धर्मेन्द्रकुमार साह तेली, सद्भावनाका डिम्पलकुमारी झा, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी रुक्मिणी चौधरीसहितले दर्ता गरेको संशोधनमा चितवन पनि टुक्र्याउन प्रस्ताव गरिएको हो । तराई मधेसमा दुईवटा मात्र प्रदेश नबनाएको भन्दै मोर्चाले संविधानसभा बहिष्कार गरेको थियो भने तीन प्रमुख दलको सहमतिमा पूर्वी तराईका झापा, मोरङ र सुनसरी मिसाएर १ नम्बर प्रदेश तथा सुदूरपश्चिमका कैलाली र कञ्चनपुर पहाडी जिल्लासँग मिलाएर ७ नम्बर प्रदेश बनाइएको थियो । सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सरकारले पेस गरेको संशोधनले मधेसको माग सम्बोधन नहुने भएकाले मोर्चाले संशोधन दर्ता गरेको बताए ।

मधेसी मोर्चाको चितवन टुक्राउने प्रस्तावले चितवनमा नयाँ तरंग पैदा गराएको छ । जिल्लामा पर्सा जिल्लाको ठोरीलाई समेत गाभ्नुपर्ने माग भईरहँदा जिल्ला नै टुक्राउने प्रस्ताव आएपछि गम्भिर प्रश्न उब्जिएको छ ।

साभार : नारायणी अनलाईन 
 
Top