नेपाल आइडलको शुक्रबारको कार्यक्रमबाट हँसाइराख्ने प्रतियोगी अफसर अली, विद्या तिवारी जसले अडिसनमा गाउँदाको आवाजलाई कार्यक्रम प्रसारण हुनु अघि देखि प्रोमोमा प्रयोग गरिएको थियो र मनोज थापा मगर आउट भए। तर यो रिजल्ट घोषणा हुँदा जजको कुर्सीमा एक जनाको कुर्सी भने रित्तै थियो। न्ह्यु बज्राचार्यको कुर्सी।
तपाईँहरुले याद गर्नुभएको होला, अघिल्लो ग्रुपको पनि ‘परीक्षाफल’ अर्थात् रिजल्ट घोषणा हुने कार्यक्रममा न्ह्यु बज्राचार्य अनुपस्थित थिए। किन? यसको कारण रोचक छ। न्हयु बज्राचार्य यतिबेला अमेरिकामा छन्। आनी छोइङ डोल्माको अमेरिका टुरमा गितारिस्टका रुपमा उनी अमेरिका पुगेका हुन्। अमेरिकका ६ सहरमा जुन ३ देखि जुन २५ सम्म कन्सर्ट थियो। तर यो बीचमा प्रसारण भएको केही कार्यक्रममा समेत न्ह्यु बज्राचार्य देखिन भ्याए। कसरी त?
खासमा नेपाल आइडलका पछिल्ला केही एपिसोडहरु तपाईँले जसरी टिभीमा देख्नुभएको थियो, यस रुपमा नदेख्न पनि सक्नुहुन्थ्यो, यदि आइडल सिरिजको फ्रेन्चाइज बेच्नेहरुले हस्तक्षेप नगरेका भए। तपाईँलाई थाहै होला विश्वका ४६ देशमा फ्रेन्चाइज बेचेर उस्तै गुणस्तर र फरम्याट कायम गरेर यो कार्यक्रम चलाइन्छ। Simon Fuller को सिर्जनामा Fremantle Media ले इन्डियन आइडललाई बेचेको फ्रेन्चाइज नेपालले भने इन्डियन कम्पनीसित किनेको रहेछ। त्यसैले क्वालिटी कायम राख्न नेपाल आइडलका लागि तीन जना कन्सलटिङ प्रोड्युसर रहेका छन्।
आइडल सिरिजको क्वालिटी कायम हुन सकेन भने त ब्रान्डमा नै धक्का पुग्छ। त्यही भएर यी कन्सलटिङ प्रोड्युसर निकै कडाइ गर्छन्। न्ह्यु बज्राचार्य शोका लागि अमेरिका पुगिसकेका थिए। यता नेपाल आइडलको महत्त्वपूर्ण एपिसोड सुरु हुँदै थियो। टप १६ (यता १८ जना बनाए) बाट जजहरुले छानेर ६ जनालाई र जनताको भोटिङबाट ६ जना गरी १२ जनालाई गाला राउन्ड पुर्याउने।
यसै पनि जजिङको बारेमा नानाभाँती कमेन्टहरु भइरहेका थिए। कालीप्रसाद बाँस्कोटा त तैबिसेक हिट गीतहरु कम्पोज गरेका व्यक्ति, इन्दिरा जोशी त ग्ल्यामरका लागि राखिएकी। नेपाली ताराको पहिलो सिजनमा कुनै उपाधि जित्न समेत असफल प्रतियोगी। न्ह्यु बज्राचार्य नै एक त्यस्ता व्यक्तित्व थिए जसले जजिङको हाइट राख्न सक्थे। तर न्ह्यु थिएनन्। एपिसोड सुटिङ भयो। कन्सलटिङ प्रोड्युसरहरुले रुचाएनन्। उनीहरुले सुटिङ भएको कार्यक्रम प्रसारणका लागि अयोग्य भन्दै रिजेक्ट गरिदिए।
अब के गर्ने त?
उनीहरुले भने, न्ह्युलाई तुरुन्त काठमाडौँ बोलाऊ।
नमानी सुख? फ्रेन्चाइज लिँदा नै गुणस्तरको शर्त तेर्स्याइएको थियो। त्यसपछि नेपाली टेलिभिजन कार्यक्रमकै इतिहासमा पहिलो पल्ट होला- कार्यक्रममा सहभागी गराउन अमेरिकामा रहेका न्ह्यु बज्राचार्यलाई अमेरिका-काठमाडौँ-अमेरिकाको बिजनेस क्लासको टिकट दिएर रातारात बोलाइयो। उनी आए गत हप्ता। अनि केही एपिसोडको सुटिङ सकाएर पुनः अमेरिका फर्किए। २२ जुनमा नेपाल आइडलको १२ औँ एपिसोड प्रसारण भयो। जसमा छानिएका १८ जना मध्ये नौ जनाले प्रस्तुति दिए र जजहरुले तीन जनालाई सीधै गाला राउन्डमा पठाउने गरी सुरक्षित गरे।
तपाईँहरुले याद गर्नुभएको होला, यो कार्यक्रम युट्युबमा अपलोड गरिएको थिएन। युट्युबमा यो कार्यक्रम २६ जुनमा मात्रै अपलोड गरियो अर्थात् न्ह्यु बज्राचार्यको घोषित कन्सर्ट मिति (२५ जुन) को भोलिपल्ट। २९ जुन अर्थात् हिजो बिहीबार प्रसारण भएको कार्यक्रम पनि उनी अमेरिका जानु अघि नै सुटिङ गरिएको थियो। जसमा नौ जनाले प्रस्तुति दिए र जजहरुले तीन जनालाई सेफ गरे। २३ जुनमा प्रसारण भएको भोटिङ राउन्ड र आज शुक्रबार ३० जुनमा प्रसारण भएको भोटिङ राउन्ड पछि सुटिङ गरिएको थियो। किनभने अघिल्लो दिन प्रसारण भएको अग्नि परीक्षापछि भोलिपल्ट मध्याह्न १२ बजेसम्म भोट लिने र त्यसको काउन्टपछि सुटिङ गर्नुपर्ने भएकोले यसमा न्ह्यु नभए पनि हुन्थ्यो।
भोटिङ रिजल्टसहितको कार्यक्रमको सुटिङ हुँदासम्म न्ह्यु बज्राचार्य अमेरिका उडिसकेका थिए। अब गाला राउन्डका लागि भने शायद् उनी नेपाल फर्किसकेका हुनेछन्।माईसंसार डटकम बाट

