रामकुमार लामा ना ५ ख ७८२७ नम्बरको ट्रक चलाएर ढुंगा खसिरहेको ठाउँनजिक आइपुगे । गाडीमा मनहरीकै १८ वर्षीय सहचालक सानु लामा रहेका थिए । माथिबाट ढुंगा झरेको देखेपछि अगाडि रहेको बस कुनापट्टिको साइड छाडेर छेउको लेनमा रोकियोे ।
उनी पनि बसैको पछाडि गएर गाडी रोकेर बसे ।
बस रोकिएपछि यात्रुहरु हतार–हतार झरेर अघि बढे । केहीपर पसल भएको ठाउँमा गइ चाउचाउ बिस्कुट किन्न थाले । रामकुमार गाडीको झ्याल लगाएर ट्रक छेउमै रोकेर हिँड्दै बसका यात्रुहरु भएतर्फ अघि बढे सहचालक सानु पछाडिको सिटमा गई सुते ।
केहीपर पुगेपछि पुलिसको भ्यान आयो । अगाडिको बाटो सफा गरेर बाटो खुलाइ आएको भ्यान पहिरोनजिक पुग्यो । एकैछिनमा यात्रुहरु प्रहरीको भ्यान पहिरोले लग्यो भन्दै कराउन चिच्याउन थाले । त्यतिखेरसम्म रामकुमार आफ्नो ट्रक सुरक्षित होला भन्नेमा थिए । रातको समयमा नदी किनारनजिक व्याक गियर लाइट बलेको देखे । मानिसहरु प्रहरीको भ्यानको खोजीमा लागिरहे ।
उनी आफ्नो गाडी रोकेको ठाउँमा आए । छक्क परे । आफ्नो गाडी नै छैन ।
पछिमात्र थाहा भयो नदी किनारमा बत्ती बलिरहेको गाडी उनैले रोकेर गएको गाडी पो रहेछ ! गाडीमा सुतिरहेका सानु लामाको खोजीमा उनी लागे । प्रहरी खोज्दै हिँडेकालाई सानु लामाले चिच्याउदै गुहार मागे । दुई घण्टापछि उनलाई ट्रकबाट उद्धार भयो । ‘ट्रकमा ठूलो ढुंगा आएर लागेको थाहा पाएँ, त्यसपछि के भयो थाहा छैन, सहचालक लामाले भने– ‘ट्रक किनारमा पुगेको केही छिनपछि बल्ल होस आएछ ।’ उपचारको क्रममा भेटिएका सानुले भने– ‘१८ वर्षमै मर्न लेखेको रहेनछ, बाँचे ।’ सडकबाट १ सय ५० मिटर तलसम्म पहिरोले लतारेको थियो ।
रातको समयमा चालकले उपचारका लागि सबैतिर फोन गरे । सहचालकको लागि एम्बुलेन्स खोजे तर भेटिएनन् । आफ्नो गाडी तल्लो साइडमा रहेकाले प्रहरीको गाडी कुना भागबाट मुग्लिनतर्फ अघि बढ्दा भ्यान र ट्रकसँगै पहिरोमा परेको हुनसक्ने उनले बताए ।
घाइते सहचालकको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको घुँडा मुनि, खुट्टाको औँला र निधारमा चोट लागेको छ ।

