काठमाडांैको लागि हवाइ उडान संख्या थपिएको छ ।
राजधानी जानेआउने मुख्य नाका मुग्लिन–नारायणगढ सडकखण्डमा दैनिक जसो पहिरो गई यात्रुको चाप बढेसँगै हवाइजहाजको उडान संख्या केहि दिन यता थपिएको सम्बन्धित एयरलाइन्सका कर्मचारीले
जानकारी दिएका छन् ।
तीन दिनपछिको उडान तालिका अग्रिम बुकिङ हुने गरेको कर्मचारीको भनाइ छ । कर्मचारी भन्छन्, ‘फोन गरेर, सेल्स अफिस धाएर टिकट माग्नेको चापले व्यवस्थापन गर्न गाह्रो भएको छ ।’
सामान्य अवस्थामा चारदेखि पाँच घण्टामा सडक यात्राबाट (१४६ किमि) राजधानी पुग्ने गरेकोमा वर्षात् सुरू भएसँगै २४ घण्टामा पनि राजधानी नपुग्ने भएपछि जहाजबाटै यात्रा गर्न मानिसहरु बाध्य छन् । हवाइ दूरी अनुसार जम्मा ९४ किमि रहेको भरतपुर काठमाडौं १५ देखि २० मिनेटको अन्तरमा जहाजले गन्तव्यसम्म पु¥याउँछ ।भरतपुरबाट काठमाडौंको दोहोरो उडानमा हाल बुद्ध, यती र सिम्रिक गरी तीन एयरलाइन्स रहेका छन् । बुद्ध र यतीले ३÷३ उडान थप गरेका छन् । केहि दिन यता बुद्धले दैनिक उडान चारबाट तीन वटा थप गरी सात र यतीले दैनिक चारबाट उडान तीन थप गरी कुल सात उडान भरिरहेका छन् । यसअघि दैनिक नौं उडान रहेकोमा वर्षात् लागेसँगै ६ वटा उडान दैनिक थपिएको छ ।
उडान संख्या थपिए पनि गर्मीका कारण उच्च तापक्रम र छोटो रन–वे भएका कारण जहाजको क्षमता अनुसार यात्रु बोक्न असमर्थ रहेको सम्बन्धित एयरलाइन्सका कर्मचारीहरु बताउँछन् । बुद्ध एयरले असार पहिलो हप्ताबाट दैनिक पाँच एटीआर र दुई बिच क्राफ्ट जहाजबाट उडान भरिरहेको छ । ‘जेठ अन्तिमसम्ममा दैनिक चार उडान थिए, बुद्ध एयर भरतपुरका डेपुटी म्यानेजर राजन अधिकारीले भने, ‘वर्षात् लागेसँगै मुग्लिन–नारायणगढ सडकको भर नहुने र यात्रुको चाप बढ्ने भएकाले उडान संख्या थपिएको हो ।
’
यती एयरलान्यसका व्यवस्थापक अुनप ढकालले जहाजको यात्रु बोक्ने क्षमता बढी भए पनि तापक्रम र रन वे का कारण कम यात्रु बोक्न परेको बताए । यात्रुको मागलाई ध्यानमा राखी गत हप्तादेखि नियमित चार उडानबाट थप गरी हाल ७ उडान भरिरहेको व्यवस्थापक ढकालले जानकारी दिए ।
सिम्रिक एयरले हाल दैनिक एउटा मात्र उडान भरेको छ । गत चैत महिनाबाट भरतपुर–काठमाडौं उडान थालेको सिम्रिकले १८ सिटको जहाजबाट नियमित दैनिक उडान भरिरहेको भरतपुरका स्टेशन इन्चार्ज कुलशर्मा पौडेलले जानकारी दिए ।
‘ यात्रुको माग र चाप अनुसार उडान संख्या बढाउँदा राम्रो हुने थियो’, इन्चार्ज पौडेलले भने,‘केही प्राविधिक कारणले एउटा उडान नियमित गरिरहेका छौं ।’ आगामी सेप्टेम्बरबाट थप एक उडान भर्नका लागि तयारी भइरहेको उनले बताए । सडकमार्गको भर नभएपछि हवाइजहाज मार्फत राजधानी जान लागेको गैंडाकोटका शिव अधिकारीले बताए । वैकल्पिक भनिएका बाटो पनि साँघुरो र लामो दूरीको रहेकाले गाडीको भन्दा उच्च भाडादर भए पनि आफूहरु जहाजबाटै जान लागेको भरतपुर एयरपोर्टमा भेटिएका अधिकारीले भने । हाल भरतपुर काडमाडौंको भाडादर तीन हजार ५०० रूपैयाँ रहेको छ ।
सडक यात्राबाट गन्तव्यसम्म पुग्ने ठेगान नभएपछि गाडीको भन्दा ६ गुणा बढी भाडा तिरेर यात्रु जहाज चढ्न बाध्य छन् ।
जहाजमा यात्रा गर्नेको चाप बढेपछि अहिले भरतपुर विमानस्थलमा निकै भीडभाड देखिन्छ । हवाइ यात्रा गर्नेको संख्या बढ्नुको मुख्य कारणका रुपमा नारायणगढ मुग्लिन सडक मर्मत सुधार रहेको विमानस्थलका कर्मचारीहरु बताउँछन्

