भरतपुर,८ असार। माडीमा असार ३ दिनदेखि विद्युत् सेवा अवरुद्ध छ । चितवन राष्ट्रिय निकुञ्जभित्रबाट लगिएको भूमिगत तार प्रणालीमा समस्या आएपछि असार ५ गतेदेखि विद्युत् सेवा अवरुद्ध बनेको हो । विद्युत् प्रशारणको सफल परीक्षणपछि झण्डै ७ महिनापछि फेरि समस्या बल्झिएको छ ।
माडी विद्युत् सबस्टेशनका ईञ्चार्ज तथा इलेक्ट्रिकल सुपरभाइजर आनन्द कुँवरले बुधबार दिउँसोमात्रै समस्या रहेको क्षेत्र फेला पारिएको जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्जभित्रबाट माडीमा विद्युत् लैजान करिब ८ किलोमिटर तारलाई जमिनमुनि बिछ्याएर लगिएको छ । चनौली–जगतपुर–माडी ३३ केभी प्रसारण लाइन ग्रामीण विद्युत् परियोजनाअन्तर्गत निर्माण गरिएको छ । निकुञ्जभित्र ७ ठाउँमा केबल जोडिएका छन् ।
“५ गते रातिदेखि सबस्टेशनमा लाइन आएन”, उनले भने, “६ गते निकुञ्जभित्रको केबल जडान भएका ठाउँ हे¥यौं, केही फेला परेन, आज(बुधबार) दिउँसो केबल जडान भएको एक ठाउँ जलेको अवस्थामा पायौं ।” राप्ती डिलदेखि करिब एक किलोमिटर भित्र सुविधा प्राप्त बाटोभन्दा केही पर रहेको केबल जडान भएको ठाउँमा तार जलेको अवस्थामा पाइएको छ । “ज्वाइन्ट जोड्ने किट हामीसँग छैन, आयोजना नेपाल सरकारलाई हस्तान्तरण पनि भइसकेको छैन”, उनले भने, “निर्माण कम्पनीलाई यो समस्याबारे जानकारी गराएका छौं, १÷२ अझै विद्युत् सुचारु हुन समय लाग्छ ।” यसअघि पनि निकुञ्ज खण्डमा पटक–पटक समस्या देखिएपछि माडीमा विद्युत् सेवा नै अवरुद्ध हुने खुबै चर्चा चलेको थियो । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका ईञ्जिनियर राजेन्द्र पौडेलले निकुञ्ज खण्डको केवलमा देखिएको समस्या दीर्घकालीनरुपमा हल गर्नुपर्ने बताउँछन् । “विगतमा पनि यही खण्डमा पटक–पटक समस्या देखिएको थियो”, उनले भने, “राम्रोसँग समस्या समाधान नगरे फेरि समस्या बल्झिन सक्छ ।”
निकुञ्जका जनावर तथा पर्यावरणलाई असर गर्ने भन्दै विगतमा निकुञ्जले भूमिगत प्रणालीबाट तार लैजानुपर्ने अडान लिदै आएपछि माडी विद्युतीकरणको काम बजेट अभावले थन्किएको थियो । मंसिरमा ऊर्जामन्त्रीले सबस्टेशसनको उद्घाटन गरेपछि नियमित विद्युत् सेवा उपभोग गर्न स्थानीयले पाएका थिए । माडीमा पहिलोपटक विद्युतीकरणको काम २०५५÷२०५६ बाट सुरु भएको थियो ।
पोल राख्ने तार टाँग्ने काम भएपनि निकुञ्जभित्रबाट ओभरहेड तार लैजान नपाइने र बजेट अभावले त्यो आयोजना त्यसै अलपत्र परेको थियो । त्यसपछि ग्रामीण विद्युत् परियोजनाअन्तर्गत २०६६ सालदेखि काम सुरु भएको थियो । निकुञ्जभित्रै मात्र तार बिछ्याउन झण्डै आयोजनाको आधा रकम खर्च भएको थियो ।
करिब २४ करोड लागतमा थालिएको सो परियोजना अझै नेपाल सरकारलाई हस्तान्तरण भइसकेको छैन । माडी बसन्तपुरमा २०६६ सालमा १ विघा बढी जग्गा किनेर सबस्टेसन निर्माण गरिएको थियो ।
