भरतपुर,१४ असार । चितवनमा पनि स्याउ फल्छ भन्ने कुरा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, भरतपुर–७, कृष्णपुर मनकामना टोलका राजेन्द्र पौडेलले आफ्नो बगैंचामा स्याउ फलाएर जोकोहीलाई आश्चर्यमा पारेका छन् । तीन वर्षअघि रौतहटको गौरमा नर्सरीमा हुर्काइएको बिरुवालाई आफूले रोपेको पौडेलले बताए । चिसो ठाउँमा मात्र फल्छ भन्ने सुन्दै आएपनि रौतहटजस्तो गर्मी ठाउँमा स्याउ नर्सरी गरेको देखेपछि रहर लागेको उनले बताए ।



साधारणतया स्याउ खेतीको लागि १५ सय देखि २ हजार मिटरसम्मको उचाइ भएको स्थान चाहिन्छ । उत्तर पूर्वी मोहडा र सोभन्दा माथिको उचाइ भए दक्षिण पश्चिमी मोहडा अति उत्तम हुन्छ । स्याउको सक्रिय विकास भइरहेको समयमा औसत तापक्रम २१ डिग्रीदेखि २४ डिग्री सेल्सियसको आवश्यकता पर्दछ । तर, बढी तापक्रममा पनि फल दिने गरी क्रस गराएर उत्पादन गरिएको हाइब्रीड जातको बिरुवा पाएपछि विचार गर्न लगाएको उनले बताए । “स्याहार त मज्जाले गरेको हो”, उनले भने, “तर यति राम्रो फल देला भन्ने आशा थिएन ।” गतवर्ष थोरै मात्र फल लागेपनि यसवर्ष भने स्याउ लटरम्म फलेर मेहनत गरे सम्भव छ भन्ने प्रमाणित गरेको उनले बताए । स्याउका धेरै चिसो चाहिने जातहरुमा सबै डिलिसियस जातहरु, विनौनी, मेकान्तोस, फुजी, ग्रेनीस्मीथ र जुना गोल्ड आदि छन् भने मध्य चिसो चाहिने जातहरु कडजा र क्रिस्पीन हुन ।


स्याउका कम चिसामा पनि फल्ने जातहरुमो अन्ना र भेरड हुन् । स्याउमा क्राउन गल, दाद, धुले ढुसी र खराने, गुलाबी रोग र बोक्रा खुईलिने मुख्य रोगहरु लाग्न सक्छन् । एउटा स्वस्थ्य स्याउको बोटले व्यावसायिक उत्पादन ५० वर्षसम्म दिन सक्ने अनुमान गरिएको छ ।

 
Top