गीतानगर । विश्व योग दिवसको अवसरमा गीतानगरमा भएको सात दिने निःशुल्क योग शिविर तथा प्रशिक्षण बुधबार समापन भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् वरण्डाभार उपभोक्ता समितिका अध्यक्ष एवम् हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयका अध्यक्ष देवराज सापकोटाले योगलाई केवल सात दिनमा मात्र प्रयोग नगरी जीवनभर निरन्तरता दिन सकेमा स्वस्थ रहन सक्ने बताए ।
साथै उनले युवाहरुले गरेको यस प्रकारका कार्यले सकारात्मक सन्देश दिएको विचार राखे । कार्यक्रममा योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सा विज्ञान गुरुकुलमका कोषाध्यक्ष शिवकुमार पौडेल, वडानं १३ का वडा सदस्य गजराज न्यौपाने , ६ नं का वडा सदस्य देवमित्र पण्डित र आइतीमाया रानामगरले शुभकामना मन्तव्य राखेका थिए कार्यक्रममा योग प्रशिक्षक , योग गुरु प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो भने नगद दुई हजारभन्दा माथि सहयोग गर्ने सहयोगीहरुलाई सम्मानपत्रले सम्मान गरिएको थियो । योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सा विज्ञान गुरुकुलमको सहयोगमा आयोजना गरिएको सो कार्यक्रम योङ नेपालका अध्यक्ष विवेक पोखरेलको अध्यक्षतामा भएको थियो ।
योगले मानव शरीरको ९० प्रतिशत रोग निको पार्ने दाबी
योगले मानवशरीरको ९० प्रतिशत रोग निको पार्ने बुधबार आयोजित एक कार्यक्रममा वक्ताहरुले बताएका छन् । नेपाल पोलिटेक्निक इन्ष्टिच्युट भरतपुर ओरालो र नेपाल भारत मानव विकास तथा साथित्व संघ काठमाडौंको संयुक्त आयोजनामा विश्व योग दिवसको अवसरमा आयोजित योग शिविरमा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । श्वासप्रश्वास, दम, टन्सिल, थाइराइड, मधुमेह जस्ता जटिल रोगकोसमेत योगको मार्फत निको पार्न सकिने योग गुरू प्राडा भगवानदाश मानन्धरले बताए । मानिसमा ज्ञान भए र ती ज्ञानहरुको सही सदुपयोग गर्न नसक्दा मानव स्वास्थ्यमा खराबी देखिँदै आएको उनको भनाइ थियो । योगलाई नियमपूर्वक गर्न सकेको खण्डमा मानव स्वास्थ्य अतुलनीय रहने भन्दै उनले पछिल्लो बिलासीपनका कारण मानव स्वास्थ्य र मानिस दुबैमा ठूलो असर परेको मानन्धरले बताए ।
नेपाल पोलिटेक्निक इन्ष्टिच्युट अध्यक्ष दुर्गादत्त ढकालले सो अवसरमा बोल्दै मानसिक र र शारीरिक थकान मेटाउनका लागि योग आवश्यक रहेको बताए । अहिलेको समयमा योगलाई गाउँसम्म पु¥याउनु आवश्यक रहेको भन्दै उनले योगले नै मानव स्वास्थ्यलाई स्वस्थ्य राख्ने बताए ।
नेपाल भारत मानव विकास तथा साथित्व संघ काठमाडौंका अध्यक्ष सूर्य भुसालले ऋषिमुनिबाट सुरू भएको योग अहिले नेपालमा चर्चाको विषय भएको बताए । अन्य विकसित मुलुकहरुले पहिलेनै अनुसरण गरी सकेका भए पनि हामीले यसलाई बुझ्न नसकेको उनको भनाइ छ । योगका माध्यमबाट नेपाललाई समृद्ध बनाउन सकिने समेत उनको भनाइ थियो । सो अवसरमा शिक्षक, विद्यार्थी र सर्वसाधारणलाई योग सिकाइएको थियो ।
