रत्ननगर । चितवनमै नमुना सडकको रुपमा निर्माण कार्य भइरहेको रत्ननगरको चारलेन सडक निर्माण कार्य पूरा नहुँदै कालोपत्रे थेप्चिएको छ । कालोपत्रे गरिएको दक्षिणतर्फको एकतर्फी सडक थेप्चिएर कहीँ खाल्डो त कहीँ उच्च भएको छ ।
कालोपत्रे गर्दा कमसल सामग्रीको प्रयोग र निर्माणमा बेवास्ता गरिएका कारण निर्माण कार्य पूरा नहुँदै सडक भत्किन थालेको हो । सडक निर्माण कार्य पूरा नहुँदै भत्किन थालेपछि सडकको गुणस्तरमा प्रश्न चिन्ह उव्जेको छ । कालोपत्रे गर्नुपूर्व ग्राबेलिङ (बेस) राम्रो नगरिएका कारण हावा छिरेर कहीँ खाल्डो त कहीँ उच्च भएको स्थानीयहरुले बताएका छन् ।

हतारहतारमा कलोपत्रे गरेका कारण सडक भत्किन थालेको रत्ननगरका पुराना व्यवसायी गोपाल कर्मचार्यले बताए । ‘साहै्र लापरबाही भयो’ उनले भने, ‘यसरी हतारहतारमा सडक निर्माण गरियो भने त यो सडक एक वर्ष पनि टिक्दैन ।’
‘रत्ननगरको चारलेन सडक एकातिर बन्दै गइरहेको छ, अर्कोतिर भत्किदै गइरहेको पनि छ’ उनले भने, ‘यस्तो कार्य रोक्न खबरदारी गर्नुपर्छ ।’ सडकको छेउमा ढल बनाउँदा पनि कमसल सामग्रीको प्रयोग गरिएको उनले बताए । उनले भने ‘हामीले खबरदारी ग¥याँै तर ठेकेदारले सुनेन ।’ रत्ननगरको निपनीदेखि लौरीघोलसम्म दुई किलो मिटर सडकलाई चारलेन बनाउन निर्माण सुरू गरिएको थियो । दुई महिनाअघि एकतर्फी सडक कालोपत्रे गरेर सवारी आवातजावतलाई सहज बनाइएको थियो । बकुलहरचोक, सौराहाचोक, टाँडीचोक र बीचबीचमा पनि सडक थेप्चिएर बिग्रिन थालेको छ । निर्माण कार्य पूरा नहुँदै सडक बिग्रिएको भन्दै विरोध हुन थालेपछि ठेकेदारले थेप्चिएको खण्डलाई भत्काएर मर्मत गर्न सुरू गरेको छ । ‘निर्माण कार्य पूरा नहुँदै सडक भत्किन थालेर टाल्नुपर्ने अवस्था आयो’ व्यवसायी कर्मचार्यले भने, ‘सडक बनाउने नाममा पैसा सक्ने काममात्र भइरहेको छ ।’ नेपाल सरकारको राष्ट्रिय योजनाअन्तर्गत १९ करोड ७० लाखको ठेक्का सम्झौतामा श्रेष्ठ कन्ट्रक्सन प्रालिले रत्ननगरमा चारलेन सकड निर्माण गरिरहेको छ ।


ठेक्का सम्झौता अनुसार २०७३ साउन महिनामै सडक निर्माण कार्य सक्नु पर्ने हो । निर्माण कार्यले गतिलिन नसकेका कारण सो सडक निर्माणको काम एक वर्ष ढिलाइ भइसकेको छ । भत्किएको सडकबाट उडेका धुलोले स्थानीयबासीले सास्ती खेस्नु परेपछि प्रमुख जिल्ला अधिकारी, रत्ननगर नगरपालिका, रत्ननगर उद्योग वाणिज्य संघ र सांसद शेषनाथ अधिकारीको आग्रहमा ठेकेदारले दुई महिनाअघि एकतर्फी सडक कालोपत्रे गरेको थियो । हतारमै कालोपत्रे गरेका कारण सडक भत्किन थालेको स्थानीयले बताएका छन् ।


निर्माण कम्पनीले चारलेन सडकको एकतर्फको कलोपत्रेमा समस्या आएको स्वीकार गरेको छ । ‘कालोपत्रे गर्दा पिच र बेस पातलो भएकै हो’ कम्पनीका इन्जिनियर अनिष रेग्मीले भने, ‘अलकत्रा बढी भएका कारण सडक थेप्चिएर कहीँ खाल्डो कहीँ उच्च भएको हो ।’


ठेक्का सम्झौतामै पाँच सेन्टी पिच गर्ने भनेर सम्झौता भएको भन्दै उनले सोही अनुसार गर्दा समस्या आएको बताए । ‘कालोपत्रे पातलो भयो’ उनले भने, ‘सवारी साधनको लोड बढी भयो ।’ वीरगञ्जबाट आएका ठूलठूला मालबहाक ट्रकको आवतजावतका कारण कलोपत्रे एक ठाउँमा डल्लो परेको उनको भनाइ छ । उनले उत्तरतर्फ गर्न लागिएको पिचमा भने बाक्लो पिच र मजबुत बेस हालिएको जानकारी दिए । चारलेन सडकमा मेनरोड, सर्भिसलेन, ग्रेनरी र फुटपाथ निर्माण हुनेछ ।



काम पनि रोकियो 


रत्ननगर । रत्ननगरमा निर्माण कार्य सुरू गरिएको चारलेन सडक निर्माणको काम रोकिएको छ । सडक डिभिजन कार्यालय भरतपुरबाट बजेट नआएका कारण २० दिनदेखि काम रोकिएको निर्माणको ठेक्का लिएको श्रेष्ठ कन्ट्रक्सन प्रालिले जनाएको छ ।


सडक निर्माणको लागि कम्पनीले १९ करोड ७० लाखको ठेक्का सम्झौतामा श्रेष्ठ कन्टक्सन प्रालिले काम सुरू गरेको हो । अहिलेसम्म करिब १५ करोडको काम सम्पन्न भइसकेको कम्पनीका इन्जिनियर अनिष रेग्मीले जानकारी दिए ।


१५ करोडमा करिब चार करोड रुपैयाँ सडक डिभिजन कार्यालयले भुक्तानी दिन सकेको छैन । उनले भने ‘पैसा नभएका कारण निर्माण सामग्री खरिद गर्न नपाएर काम रोकिएको छ ।’ दक्षिण तर्फको सडक कालोपत्रे गर्दागर्दैै आर्थिक अभाव भएर काम रोकिएको रेग्मीले बताए । भूकम्प र नाकाबन्दीका कारण डिजेल, पेट्रोल तथा निर्माण सामग्रीको अभाव भएर समयमै काम हुन नसकेको सो सडक निर्माणमा पछिल्लो समय सरकारले बजेट दिन नसकेका कारण रोकिएको छ

 
Top