दाङ, असार १४ – दाङ घोराही उपमहानगरपालिकाको वडा नम्बर १ को आधारभूत विद्यालय सिमलतारा मतदान केन्द्रमा बुधबार बिहानै अनौठो दृष्य देखियो । उस्तै उमेर र उस्तै रोग लागेका दुई बुढाबुढीलाई अरुले बोकेर भोट हाल्न ल्याएका थिए ।  उस्तै उमेरका र उस्तै रोग लागेका दुई बुढाबुढी घोराही उपमहानगरपालिका वडा नंबर १ अजिंगरे गाउँमा दिदीभाइ हुन् ।



 

१५ वर्षअघि प्यारालाइसिस भएपछि ६३ वर्षकी मोतीदेवी ओली र ६ वर्षअघि प्यारालाइसिस नै भएपछि ६० वर्षका ओबीराम खत्रीको शरीर चल्दैन । आफै हिँड्न नसक्ने भएपछि उनीहरुले भोट हाल्न नजाने निधो गरेर बसेका थिए । तर दिनदिनै उम्मेदवार आएर भोट हाल्न जानैपर्छ भनेपछि उनीहरु माइला बुवाका छोराहरुको सहारा लिएर भोट हाल्न पुगेका छन् । ‘सिंहदरबारको अधिकार गाउँमा आउँछ, तपाईंको रोगको निःशुल्क उपचार अब यतैबाट हुन्छ भनेपछि चाहिँ घरमै बस्न मन लागेन, सहारा खोजेर भोट हालियो’ ओबीराम खत्रीले भन्नुभयो, ‘हामीले भोट हालेर जितायौं भने भोलि हाम्रो उपचार गरिदेलान भनेर अरुकै काँधमा बोकिएर भएपनि भोट हालियो ।’ चुनाव पछि निःशुल्क प्यारालाइसिसको उपचार हुनेमा आफूहरुलाई निकै आशा लागेको उहाँले बताउनुभयो । ‘चुनाव पछि हाम्रो नचल्ने शरीर चल्ने आशामा दलहरुले धेरै नै आग्रह गरेको हुनाले आधा घन्टा अरुलाई दुःख दिएर भएपनि भोट हाल्न गयौं’ मोतीदेवी ओलीले भन्नुभयो ।

उज्यालो Online बाट

 
Top