भरतपुर । चितवनकै गौरवको आयोजना मानिएको ‘चितवन औद्योगिक प्रर्दशनी केन्द्र’ को निर्माण कार्य सुरू गरिएको छ । ३० करोड लागतमा उद्योग संघ चितवनले भरतपुरमा निर्माण गर्न लागेको सो प्रदर्शनी केन्द्रका लागि सरकारले १५ करोड रूपैयाँ अनुदान दिँदै छ भने बाँकी १५ करोड संघ आफैले संकलन गर्ने गरी निर्माण कार्य अगाडि बढाइएको हो । ‘हामीले प्रदर्शनी केन्द्रको निर्माण कार्य सुरू गरिसकेका छौँ’, निर्माण समितिका संयोजक तथा उद्योग संघ चितवनका वरिष्ठ उपाध्यक्ष भेषराज दुवाडीले भने,‘आगामी कात्तिकसम्ममा प्रदर्शनी केन्द्रको ‘ए’ ब्लक निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।’ यही प्रदर्शनी केन्द्रमा र्काित्तकको २४ गतेबाट २६ गते सम्म हुने पोल्ट्री एक्स्पो गर्ने तयारी भइरहेको छ ।



‘ए’ ब्लकमा तीन हल बन्ने छन् । ब्लक ‘ए’ को १, २ र ३ नम्बरको भवनमा प्रदर्शनी स्टल रहने छन् । यो भवन ५७ हजार ७४१ दशमलब ५ वर्गफिट क्षेत्रफलको हुने छ । यस्तै ब्लक ‘बि’ मा प्रदर्शनी केन्द्रको सचिवालय रहने छ । यो सचिवालयले चार हजार २८२ वर्ग फिट क्षेत्रफल ओगट्ने प्राविधिकहरुले जनाएका छन् । संघका प्रशासकीय अधिकृत गोविन्द पौडेलका अनुसार चार हजार ६५० वर्ग फिट क्षेत्रफल ओगट्ने ‘सि’ ब्लकमा बालउद्यान, ६ हजार ९९० वर्ग फिट रहेको ब्लक ‘डि’ मा व्यवसायिक भवन र दुई हजार ६५० वर्ग फिट रहेको ब्लक ‘ई’ मा शौचालय निर्माण गरिने छ ।



‘सरकारी निजी साझेदारी’ को अवधारणा अनुसार निर्माण गर्न लागिएको सो प्रदर्शनी केन्द्रमा पहिलो चरणमा ठूला तीन वटा हल निर्माण गरिने छन् । विशेषत उद्योगहरुले उत्पादन गरेका वस्तुलाई बजार प्रवद्र्धन गर्ने उद्देश्यले यहाँ प्रदर्शनीमा राख्ने गरी प्रदर्शनी केन्द्र बनाउन लागिएको हो । ‘उद्योगहरुले उत्पादन गरेका वस्तुहरु ग्राहकसम्म पु¥याउनका लागि प्रदर्शनी केन्द्र सहयोगी बनोस् भन्ने उद्देश्य हो’, संघका वरिष्ठ उपाध्यक्ष दुवाडीले भने । प्रदर्शनी केन्द्र बनाउनका लागि नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा सो अनुदान रकम सहयोग गरेका हुन् । प्रचण्डले नै आफू प्रधानमन्त्री हुँदा सो प्रदर्शनी केन्द्रको शिलान्यास गरेका थिए । अहिले सो केन्द्रका लागि प्राप्त अनुदान रकम निकासको तयारीमा छ ।



सरकारले सो उद्योग प्रदर्शनी केन्द्र बनाउनकै लागि उद्योग संघलाई जग्गासमेत उपलब्ध गराएको छ । २०७१ कात्तिक १० गते भएको मन्त्रीस्तरीय निर्णयले चितवन उद्योग संघको स्वामित्वमा रहेको दुई बिघा साढे ७ कठ्ठा जग्गा प्रदर्शनी केन्द्र निर्माणका लागि उपलब्ध गराएको थियो । सोही निर्णय अनुसार संघले २९ वर्ष भोगचलन गर्ने गरी जिल्ला मालपोत कार्यालय चितवनसँग २०७३ असार ३१ गते सम्झौता गरी सो स्थानमा प्रदर्शनी केन्द्र बनाउन लागेको हो । सरकारको पुनर्संरचनाअन्तर्गत स्वामित्व स्थानीय निकायमा जाने तयारी भइरहेका बेला यो भवन निर्माणमा पनि अन्यौल हुने हो कि भन्ने शंका रहेको छ । संघीय मामिला मन्त्रालयले जेठ ५ गते उद्योग मन्त्रालयलाई, जेठ १४ गते उद्योग मन्त्रालयले उद्योग विभागलाई र जेठ १७ गते विभागले घरेलु तथा साना उद्योग कार्यालयलाई पत्र लेखी आफ्नो मातहतमा निर्माण भइरहेका भौतिक संरचनाको निर्माण कार्य रोक्न निर्देशन दिएको थियो । स्वामित्व हस्तान्तरण प्रक्रिया भएको कारण देखाउँदै सो पत्र कार्यालयमा आए पनि पत्रले प्रदर्शनी केन्द्र निर्माणमा कुनै समस्या नहुने तर्क गरिएको थियो ।



संघका वरिष्ठ उपाध्यक्ष गोविन्द पौडेलले सरकारसँग सम्झौता गरेर भोगचलनको स्वामित्व लिइसकेका कारण प्रदर्शनी केन्द्र निर्माणमा कुनै समस्या नरहेको स्पष्ट पारे । ‘सरकार मातहतका निकायहरु जिल्लास्तरमा स्थानीय निकायलाई हस्तान्तरण गर्ने कुराले प्रदर्शनी केन्द्र निर्माणमा कुनै अवरोध वा समस्या पर्दैन’, पौडेलले भने । प्रदर्शनी केन्द्र निर्माण पश्चात चितवनको मात्रै हैन देशभरका उद्योगहरुले उत्पादन गर्ने वस्तुहरुको प्रदर्शनीमा यसले टेवा पुग्ने विश्वास गरिएको छ । तर, यसले चितवनका उद्योगहरुलाई भने विशेष प्रवद्र्धन नै गर्छ । उद्योग संघ चितवनको तथ्याङ्क अनुसार चितवनमा अहिले आठ हजार ४५७ साना ठूला उद्योग सञ्चालनमा छन् ।

 
Top