भरतपुर । जेठ १४ गते राति भरतपुर स्थित कभर्ड हलमा गणनाका क्रममा च्यातिएका मतपत्रहरु सुरक्षित रहेको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
सत्ता तथा शक्तिको आडमा मतपत्र र मतपेटिकामा गडबड हुन सक्ने भन्दै जनताबाट आशंका पैदा भइरहँदा सुरक्षा निकायले भने पूर्ण सुरक्षाको प्रत्याभूत गरिएको प्रतिक्रिया दिएको छ । च्यातिएको मतपत्र के कस्तो अवस्थामा छन् ? भन्ने जिज्ञासामा जवाफ दिँदै चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले भने, ‘सबै मतपत्रहरु सुरक्षित छन् ।’ गणना भएका र नभएका तथा च्यातिएका र नच्यातिएका सबै खाले मतपत्रलाई तन्नाले छोपेर राखिएको छ ।
मतपत्र हराउने, साटिने, थपिने वा मतपेटिका नै गायब हुने र थपिने जस्ता शंकास्पद गतिविधि हुन सक्ने भन्दै आम जनचासो बाहिर आइरहँदा प्रहरीले भने कुनै शंकाउपशंका नगर्न आग्रह गरेको हो । ‘च्यातिएका मतपत्रको हामीले दलहरुको उपस्थितिमा मुचुल्कासमेत उठाएका छौं’, प्रहरी प्रमुख थापाले भने, ‘मतपत्र हराएको, थप क्षति पुगेको भनेर कसैले चिन्ता नलिए हुन्छ ।’ अहिले पनि तीन तहमा प्रहरीले सुरक्षा दिइरहेको उनले जानकारी दिए ।
त्यस्तै भवनको गेटमा निर्वाचन कार्यालय र मतगणनाको माग गर्दै आएको नेकपा एमालेले छुट्टाछुट्टै ताला लगाएको छ । ‘मतगणना नहुँदा भित्र अनेक बेइमानी हुन सक्छ भन्नेहरुका लागि विश्वस्त पार्न हामीले सबै दलका प्रतिनिधिलाई ताला लगाउन समेत आव्हान गरेका थियौं, प्रमुख थापाले भने, ‘निर्वाचन कार्यालय र एमालेले मात्रै ताला लगाएको छ ।’
साथै प्रहरी प्रमुख थापाले धेरैमा एक दर्जन जति मतपत्र च्यातिएको हुन सक्ने बताए । अधिकारकर्मीहरुले भने जनमतको कदर हुन नसकेको टिप्पणी गरे । च्यातिएको र गन्न बाँकी मतको अवस्थाबारे पनि जानकारी हुनुपर्ने अधिकारकर्मीहरुको माग रहेको छ ।

प्रत्यक्षदर्शी भन्छन्–‘घटना सुनियोजित थियो’
भरतपुर । जेठ १४ गते राति ८ बजेतिर कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले मतगणनास्थलमा विवाद निकाले । कांग्रेसकै ‘राम’ भनिने युवाले विवाद बल्झाउन हो मा हो थपे । त्यही बेला माओवादी केन्द्रका मजदुर अध्यक्ष अनक मगर ठूलो ठूलो स्वरमा विवाद गर्न थाले । रेणु दाहाल कहिल्यै मतगणनामा आउँदिन थिइन् । तर, त्यसबखत उनी पनि उपस्थित थिइन् । रेणु आफू हारिने स्पष्ट भइसकेपछि आफ्नो प्रतिनिधिसँग छलफल गरेर त्यहाँबाट बाहिर निस्किइन् ।
रेणु निस्के लगत्तै माओवादी केन्द्रका प्रतिनिधिहरु उत्तम गुरुङ र प्रकाश कँंडेल एकैचोटी इशारा गरेर शौचालयतिर गए । ‘केही सल्लाह गर्न गए जस्तो लाग्यो । मलाई अब यिनीहरुले केही गर्छन् भन्ने लाग्यो । यही बुझेर मैले निर्वाचन अधिकृत कविराज न्यौपानेलाईं जानकारी गराएँ ।
उनले तुरुन्तै मेरै अगाडि इन्स्पेक्टर जेएन यादवलाई मलाई थप फोर्स चाहियो, मतपत्र सुरक्षित गर्ने १०० जना प्रहरीको घेरा बनाउ भन्ने निर्देशन दिए । तर, इन्स्पेक्टर यादवले नसुनेको जस्तै गरे । आदेशको पालना भएन ।
केहीबेरमै एक हजार ८०० को गणना सकियो । उनीहरु हुल बाँधेर बाहिर निस्किए । त्यसक्रममा मतगणनाको समूह ‘च’ मा बस्ने माओवादीका प्रतिनिधि प्रकाश कँडेलले मतपत्र च्यात्ने तयारी गरिरहेको थाहा भयो ।
‘हामीले निर्वाचन अधिकृत, एसपीलाई व्यक्तिको नामै तोकेर प्रकाश कँडेलले समूह ‘च’ मा मतपत्र च्यात्छ र मधु न्यौपानेले समूह ‘क’ मा च्यात्ने खबर ग¥यौं । तर, सुनेको नसुनेको जस्तै ग¥यो प्रहरीले । मैले तुरुन्तै बाहिर निस्किएर पत्रकार विकास पौडेललगायतलाई सम्भावित घटनाबारे जानकारी गराएको पनि थिएँ ।
(प्रत्यक्षदर्शी मतगणना स्थलमा रहेका साकार लामाको भनाइ )
 
Top