सिक्किम, असार १५ । चिनियाँ सेनाले सीमा क्षेत्रमा भारतीय सेनाका बंकर भत्काउने अभियान चलाएको छ । अन्तर्राष्ट्रिय प्रावधान र दुई देशबीचको सहमति उल्लंघन गरी भारतीय पक्षबाट बनाइएका बंकर भत्काइएको चिनियाँ सेनाको भनाइ छ ।

विगत एक महिनाको अवधिमा चिनियाँ सेनाले चारवटा बंकर भत्काइसकेको छ । भत्काइएका पछिल्ला दुई बंकर चीन, भारत र भुटानबीचको त्रिकोणात्मक सीमा क्षेत्रमा रहेको बताइएको छ । यसअघि अन्य दुई बंकर चिनियाँ सेनाले भत्काएको थियो ।

समाचार एजेन्सीहरुका अनुसार चिनियाँ सेनाले यसअघि नै विवादित क्षेत्रबाट बंकर हटाउन आग्रह गरेको थियो । तर भारतीय सेनाले बंकर नहटाएपछि चिनियाँ सेनाले बल प्रयोग गरेर ती बंकर भत्काइदिएको हो ।



डोजरसहित आएका चिनियाँ सेनालाई रोक्न भारतीय सेनाले मानव साङ्लो बनाएका थिए । तर चिनियाँ सेनाले ठेलेर भारतीय सेनालाई हटाएपछि डोजर चलाएर बंकर भत्काइदिएको हो । चिनियाँ सेनाले भारतीय बंकर भत्काउँदा भारतीय सेनाको टोली मुकदर्शक बनेको बताइन्छ ।



भारतले सिक्किमसँग जोडिएको चिनियाँ सीमामा पुराना बंकर मर्मत र नयाँ बंकर बनाउने अभियान नै चलाएको थियो । अरुणाचलको केही हिस्सामा भारत र चीनले लामो समयदेखि विवाद गर्दै आएका छन् । भारत र चीनबीच करिब ४ हजार किलोमिटर सीमा क्षेत्रमा झण्डै आधा हिस्सामा सीमा विवाद छ । (एजेन्सी)

 
Top