भरतपुर । लोडसेडिङमुक्त भएसँगै चितवनमा नयाँ उद्योग खुल्नेक्रम बढेको छ । पछिल्ला केही महिना लोडसेडिङको अन्त्य भएसँगै उद्योग धन्दा खुल्ने क्रम बढेको हो । घरेलु तथा साना उद्योग संघ चितवनमा रहेको तथ्याङ्क अनुसार पछिल्लो आठ महिनामा मात्रै चितवनमा ९६३ नयाँ उद्योग सञ्चालनमा आएका छन् । यसरी नयाँ खुलेका उद्योग मध्ये १९६ लघु उद्योग र ७६७ अन्य उद्योग हुन् । घरेलु तथा साना उद्योग कार्यालय चितवनका उद्योग अधिकृत रुद्र पौडेलले नयाँ खुलेका उद्योगहरुमा उत्पादन, कृषि, पर्यटन र सेवामूलक रहेको जानकारी दिए ।



‘विशेष त कृषि र पर्यटनमा आधारित उद्योगहरु खुल्ने क्रम बढ्दै गएको छ’, उद्योग अधिकृत पौडेलले भने, ‘उद्योग, कलकारखाना खुल्नेक्रम बढेसँगै रोजगारीका क्षेत्र समेत विस्तार भएका छन् ।’ यो वर्ष मात्र लघु उद्योगमा १० करोड ८२ लाख ५५ हजार र अन्य उद्योगहरुमा नौं अर्ब ८९ करोड ५९ लाख ५५ हजार गरी १० अर्ब ४२ लाख १० हजार रूपैयाँ कूल पुँजी लागत भएको पनि अधिकृत पौडेलले जानकारी दिए । यी उद्योगहरुमा चार हजार ३७३ जनाले नयाँ रोजगारी पाएका छन् । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले उद्योग धन्दा खुल्नेक्रम बढ्नुको प्रमुख कारण लोडसेडिङमुक्त हुनु भए पनि स्थानीय तहमा भएको निर्वाचनले पनि लगानीको वातावरण बनेको तर्क गर्छन् ।



 

‘शान्ति सुव्यवस्था कायम भएको महसुस व्यवसायीलाई भएका कारणले पनि उद्योग धन्दा खुल्नेक्रम बढी रहेको छ’, उनले भने, ‘देशमा स्थानीय निकायको चुनाव भयो । यसले विकासको ढोका खुलेकाले पनि व्यवसायीहरु लगानीमा उत्साहित भएका हुन् ।’ उनले पछिल्लो समय घर जग्गाको कारोबारमा आएको गिरावटले पनि त्यसतर्फ लगानी गरिरहेको व्यवसायीहरु समेत उद्योग खोल्न उत्साहित भएको बताए ।


‘आर्थिक समृद्धिको आधार नै उद्योग धन्दा सञ्चालनमा आउनु हो’, गौतमले थपे, ‘पछिल्लो समय उद्योग धन्दा खुल्नुमा देखिएको व्यवसायीहरुको उत्साह कायमै रहनु जरुरी छ ।’ लघु उद्योगका हकमा सरकारले दर्ता प्रक्रिया सहज र निःशुल्क गरेका कारण पनि दर्ताको पहँुचमा आउने क्रम बढेको हो । कांग्रेस नेता नविन्द्रराज जोशी उद्योगमन्त्री हँुदा नै सरकारले लघु उद्योगहरु दर्ता अभियान नै चलाएको हो ।



‘पाँच लाख भन्दा कम पूँजी र वर्षमा ५० लाख रूपैयाँसम्मको कारोबार हुने उद्योगहरुलाई लघु उद्योग कायम गरी सरकारले विभिन्न सुविधा दिएर दर्ता अभियान चलाइ रहेको छ’, उद्योग अधिकृत पौडेलले भने, ‘लघु उद्योगलाई पाँच वर्षसम्म आयकरमा छुट दिने सकारको निर्णयले पनि यसप्रति आकर्षण बढी देखिएको हो ।


घरेलु उद्योग कार्यालय चितवनमा हालसम्म आठ हजार ४५८ उद्योग सञ्चालनमा रहेका छन् । यसरी सञ्चालनमा रहेका उद्योगहरुमा ३८ हजार ४१२ जनाले रोजगारी पाइरहेका छन् भने यिनलाई रोजगारी दिने रोजगारमा एक हजार ७१९ महिला र आठ हजार ४४७ पुरुष उद्यमी रहेका बताइन्छ

 
Top