भरतपुर । तालिम पूरा गरेर कार्य क्षेत्रमा जान तयार रहेका प्रहरी सहायक निरीक्षकहरुका लागि बुधबार जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा आयोजित दीक्षान्त समारोहमा कबाज कार्यक्रम सुरू हुँदै थियो  !कार्यक्रमका प्रमुख अतिथि जनार्दन शर्मा ‘प्रभाकर’ लाई कबाज निरीक्षणका लागि गाडी तयार थियो ।




 

तर, गृहमन्त्री शर्मा गाडी नचढी पैदलै कवाज हेर्न लम्किए । निलो रंगको प्रहरीको पिकअप भ्यानलाई सयपत्रीको माला ओढाएर तयार राखिएको थियो । उनीसहित अन्य अतिथि भ्यानको पछाडि उभिएर कवाज निरीक्षण गर्ने कार्यक्रम थियो । गृहमन्त्री गाडीमा उक्लन अफ्ठ्यारो नहोस् भनेर सानो तीन खुड्किले भ¥याङ ल्याइएको थियो । दुई प्रहरी जवानले उचालेर ल्याएको भ¥याङ पिकअप भ्यानमा मिलाइँदै गर्दा गृहमन्त्री शर्मा भ्यान नजिकै पुगे । तर, गृहमन्त्री शर्मा भ¥याङ उक्लेनन्, पैदलै कवाज टोलीतर्फ लागे ।




 

उनलाई प्रहरी संगठनका प्रमुख, प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्याल र शिक्षालयका निर्देशक प्रहरी नायब महानिरीक्षक (डीआईजी) रणबहादुर चन्दले पनि पछ्याउनु प¥यो । यसअघिको दीक्षान्त समारोहमा आएका तत्कालीन आईजीपी उपेन्द्रकान्त अर्यालले गाडीमै बसेर कवाज निरीक्षण गरेका थिए । गृहमन्त्री जनार्दन शर्मा १७३ औं समूहको असई तालिम पूरा गरेकाहरुको दीक्षान्त समारोहमा सरिक भएका हुन् । सो समूहमा १५६ जना सहभागी थिए । गत वर्षको साउनबाट तालिम सुरु भएको थियो । तालिममा सहभागी मध्ये १५० जनाले पूरा गरेका छन् । जसमध्ये २० जना महिला रहेको शिक्षालयका निर्देशक डीआईजी चन्दले जानकारी दिए । कार्य क्षेत्रमा जान लागेका असईहरुलाई सम्बोधन गर्दै गृहमन्त्री शर्माले कानुन मिचेर र बाटो बिराएर अलमलिएकाहरुलाई कानुनी दायरमा ल्याउने दायित्व पूरा गर्न सक्षम हुनु होस् भन्ने शुभकामना दिए ।



 

प्रविधिको प्रयोग गरेर जटिल खालका अपराधहरु गर्ने परिपाटी बढेका कारण प्रहरीका लागि चुनौती थपिएको उनले बताए । ‘तर यो चुनौती पनि सामाना गर्न सक्नु पर्छ । यस्तो खालको समस्या हटाउन प्रहरी पनि प्रविधिमा पोख्त बन्न सक्नु पर्छ । निरन्तर अध्ययन गरे यस्ता चुनौती सामान्य लाग्न सक्छन्’ मन्त्री शर्माले भने । स्थानीय, प्रदेश र संघीय सरकारले लिने नीति नियम र निर्देशनलाई सफल बनाउन पनि प्रहरीको भूमिका महत्वपुर्ण हुने उनले बताए । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले संविधानसभाबाट संविधान लेख्ने नेपालीको वर्षैको सपना साकार भए पनि त्यसलाई आकार दिने काम बाँकी रहेको बताए । निर्वाचन सम्पन्न भए संविधानले आकार पनि लिने उनले बताए । ‘हाम्रो काँधमा स्थानीय तह, प्रदेश र संघीय निर्वाचन पूरा गर्ने अभिभारा छ । भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन हाम्रो भूमिका महत्वपूर्ण हुन्छ’ अर्यालले भने ।




दीक्षित भएर कार्यक्षेत्रमा जान लागेका असईहरुले निर्वाचनको जिम्मेवारी पूरा गर्न अवसर पाएको पनि उनले बताए । प्रहरी क्षेत्र सुधारमा दिशामा अगाडि बढेको अनुभव सर्वसाधारणले गर्न थालेका कारण जनविश्वास गुमाउने काम नहोस् भनेर सजग हुन उनले अपिल गरे ।

 
Top