भरतपुर । जनप्रतिनिधि आउने भएपछि भरतपुर महानगरपालिकाको आन्तरिक भौतिक संरचनामा व्यापक फेरबदल भएको छ । चयन हुने नयाँ जनप्रतिनिधिका लागि नयाँ कुर्ची, टेबल खरिद भइसकेका छन् । निलो पर्दा र हरियो कार्पेट बिछ्याइको छ । नयाँ जनप्रतिनिधिका लागि भन्दै अनावश्यक रुपमा सामानहरु खरिद भइरहेका छन् ।
अनावश्यक सामान खरिद, खरिदमा बजार प्रतिस्पर्धा नगराइनु, आफूखुसी खरिद गर्नुले भ्रष्टाचार भएको सहजै अनुमान गर्न सकिन्छ । जनप्रतिनिधि बस्ने कुर्ची र प्रयोगमा आउने अन्य सामान खरिद प्रक्रिया वैज्ञानिक नभई सामान्य टिप्पणी उठाएको भरमा खरिद भएको छ । सामान खरिद भएर कार्यालय सजिई सक्दा पनि बिल भने कार्यालयमा पुगेको छैन ।
![]() |
अनावश्यक भन्दै फालिएको सोफा । |
कार्यालयमा तत्कालै प्रयोगमा ल्याउन सकिने र सामान्य मर्मतको आधारमा पनि पुनः प्रयोगमा ल्याउन सकिने समानहरु कार्यालयको एकापट्टि कुनामा लगेर फालिएको छ । महानगरपालिकाको जिन्सी शाखाले खरिद गरेको फर्निचरमा सामान्य टिप्पणी मात्र उठाइएको छ । ‘पाँच लाखभन्दा कम मूल्यका सामान खरिद गर्दा सार्वजनिक खरिद ऐन अवलम्बन गर्न नपर्ने भएकाले टिप्पणी उठाएर सामान खरिद गरेका हौं,’ महानगरका जिन्सी शाखा प्रमुख नारायणप्रसाद लौडारीले भने । ‘फर्निचर किन्दा कति खर्च भयो बिल आइपुगेको छैन’, उनले भने,‘बजारमा गएर एक दुई वटा पसलमा सोधपुछ गरेपछि हामीले सस्तो र गुणस्तरीय सामान जहाँ पायौं त्यहीँबाट खरिद ग¥यौं ।’ नारायणगढ र भरतपुरमा सयौंको संख्यामा फर्निचर पसल भए पनि कर्मचारीले नारायणी फर्निचर नारायणगढबाट सामान खरिद गरेको पाइएको छ ।
‘हामीले पहिले नेपा फर्निचरमा पुगेर सोध्यौं, लौडारीले भने,‘नेपो भन्दा दोस्रो पटक गएको नारायणी फर्निचरले १० प्रतिशत कम मूल्यमा सामान दिएपछि त्यहीँबाट खरिद ग¥यौं ।’ कार्यालयका कोठाकोठामा नयाँ कार्पेट ओछ्याएको छ । तर, कुन पसलबाट के कति मूल्यमा कार्पेट खरिद गरियो भन्ने जिन्सी शाखाका प्रमुख लौडारीले नै आफू यसबारे जानकार नभएको प्रतिक्रिया दिए ।
‘जन प्रतिनिधिको रुपमा मेयर उपमेयर आउने भएपछि भरतपुर महानगरपालिका कार्यालयले हतारमा फर्निचर खरिद गरेको छ, यसमा कमिसनको खेल हुन सक्छ’, कार्यालयमै कार्यरत एक कर्मचारीले भने । हाल जनप्रतिनिधि रहने कार्यालयमा रंग लगाउने र आवश्यक कुर्सी, टेबल, कम्प्युटरलगायतका सामान किन्ने होड नै चलेको छ ।
‘वडाध्यक्षको माग र आवश्यकता अनुसार व्यवस्था गरौंला भनेर बसेको छ’ु, भरतपुर महानगरपालिका वडा नम्बर १० का सेवा केन्द्र प्रमुख मधुराम दुवाडीले भने । यस वडाबाट निर्वाचत भएका वडा अध्यक्ष अरुणपीडित भण्डारीले आफूलाई बस्ने ठाउँ भन्दा पनि जनताको सेवामा बढी चिन्तित र केन्द्रित भएको प्रतिक्रिया दिए । उनले भने, ‘मेरा लागि के कस्तो टेबलकुर्सी छ वा हुनेछ त्यो मलाई खासै चासोको विषय होइन, मेरा लागि जनताको सेवा नै प्रमुख विषय हुनेछ ।’
मेयरलाई १८ हजारको घुम्ने कुर्ची
भरतपुर । भरतपुर महानगरपालिकाका मेयरका लागि १८ हजार रूपैयाँको कुर्ची खरिद गरिएको छ ।
मेयर र उपमेयरका लागि समान १८÷१८ हजारको कुर्ची खरिद गरिएको कार्यालयले जनाएको छ । पाँच हजारको कार्पेट बिछ्याइएको छ । ‘मतगणना सकिएपछि तत्कालै मेयरउपमेयर आई बस्ने छन् भनी खरिद गरिएको हो, जिन्सी शाखा प्रमुख नारायण लौडारीले भने, ‘ उनीहरुको लागि सबै तयार छ ।’

