भरतपुर । भरतपुर–१० मा रहेको नारायणी नमुना माध्यमिक विद्यालयले यस वर्षको सेकेन्डरी एजुकेसन एक्जाम (एसईई) परीक्षाको नतिजामा चितवनमा नाम चलेका संस्थागत विद्यालयहरुलाई पनि उछिनेको छ ।
नारायणी नमुना माध्यमिक विद्यालय चितवनको उत्कृष्ट सामुदायिक विद्यालय हो । यस विद्यालयले बर्सेनि उत्कृष्ट नतिजा ल्याइरहेको छ । यस वर्षको एसईई परीक्षामा नारायणी नमुना माविबाट २५२ विद्यार्थी सहभागी भएका थिए । जसमध्ये ५० जनाले ‘ए प्लस’ ग्रेड ल्याएका छन् । ए प्लस ग्रेड ल्याउने विद्यार्थीको ३.६ भन्दा माथिको जीपीए मानिन्छ । नारायणी माविको जतिको जीपीए चितवनका कुनै पनि संस्थागत विद्यालयको आएको छैन ।




त्यस्तै नारायणी माविका ८० जना विद्यार्थीले ‘ए’ ग्रेड ल्याएका छन् । ५४ जनाले ‘बी प्लस’ ल्याएका छन् । यसैगरी ४१ जनाले ‘बी’ ग्रेड ल्याएका छन् । २७ जनाले ‘सी प्लस’ ल्याए । ‘सी, डी प्लस, ई’ ग्रेड ल्याउने विद्यार्थी एक जना पनि छैनन् । तीन दृष्टिविहीनको समेत ‘बी प्लस’ आएको छ ।


‘सामुदायिक विद्यालयलाई मात्र होइन, संस्थागत विद्यालयलाई पनि सजिलै उछिनेका छौँ’ नारायणी नमुना माविका प्रधानाध्यापक पूर्णप्रसाद दवाडीले भने, ‘गत वर्षको एसईई नतिजामा नारायणी नमुना मावि मध्यमाञ्चलको पहिलो र देशभरमै दोस्रो भएको हो । यस वर्ष पनि हाम्रो त्यो नतिजा पक्का सुरक्षित छ, तर गतवर्ष भन्दा यस वर्ष माथि पुग्छौँ होला ।




गत वर्ष नारायणी नमुना माविको समग्रमा ३.११ जीपीए थियो । ‘गत वर्षको जीपीएलाई यस पटक हामी उछिन्नेछौँ’ प्रअ दवाडीले भने, ‘नारायणीको प्रतिस्पर्धा नारायणीसँगै हुन्छ, कुनै संस्थागत र सामुदायिक विद्यालयले हामीलाई भेट्न सक्दैनन् ।’जिल्ला शिक्षा कार्यालयले पनि जिल्लाको उत्कृष्ट नतिजा निकाल्ने विद्यालयभित्र नारायणी मावि पर्दै आएको बताएको छ । जिल्ला शिक्षा कार्यालय भरतपुरका परीक्षा शाखाका ज्ञानहरि पौडेलले नारायणी नमुना मावि नै उत्कृष्ट नतिजा ल्याउने विद्यालयको पहिलो सूचीमा पर्ने बताए । उनले भने, ‘गत वर्ष पनि नारायणी नमुना मावि नै पहिलो भएको हो, यसपटक पनि सम्भवत उसैले कव्जा गर्ला ।




पौडेलले केही दिनभित्रमा चितवनमा कुन विद्यालयको कस्तो नतिजा ल्यायो भनेर औपचारिक रुपमा जानकारी गराउने बताए । उनले भने, ‘पहिलेजस्तो अवस्था छैन, परीक्षा नियन्त्रण कार्यालयबाट विस्तृत जानकारी आएपछि बल्ल जिल्लाको शैक्षिक गुणस्तर मापन गर्न सकिन्छ । त्यसको लागि केही समय लाग्ने भयो ।




कसरी अव्बल भयो नारायणी ?




२०२४ सालबाट नारायणी माविले प्रवेशिका परीक्षा दिँदै आएको छ । हरेक परीक्षामा यस विद्यालयले उत्कृष्ट नतिजा निकालिरहेको छ । नयाँ विद्यार्थीहरुले प्रवेश परीक्षा पास गरेपछि यस विद्यालयमा अध्ययन गर्ने अवसर पाउँछन् । ‘यस विद्यालयमा अनुभवी शिक्षक छन् । भौतिक संरचनाले भरिपूर्ण छ । प्रोजेक्टरबाट पठनपाठन हुन्छ । साइन्स ल्याब छन् । प्रशस्त खेलमैदान छ । कुनै कुराको अभाव छैन’ प्रअ पूर्णप्रसाद दवाडीले भने, ‘विद्यालय व्यवस्थापन सक्रिय र जुझारु छ । सबै आस्था र विचार राख्नेहरुको व्यवस्थापन समिति भए पनि स्कुल बनाउन सबैको एक मत हुन्छ ।




उनले जे कुरामा पनि लागेर गर्ने हो भने सफल भइने बताए । ‘शिक्षक अल्छी हुनुहुँदैन, सक्रिय हुनुपर्छ । बालमैत्री पढाइ हुनुपर्छ । अनि मैले केही गर्छु र विद्यार्थीलाई बनाउँछु भन्ने आफूमा एउटा इख हुनुपर्छ’ प्रअ दवाडीले भने, ‘अनि समाजको विश्वसनीय र स्वीकार्य हुनुपर्छ । यही कारणले नारायणीले उत्कृष्ट नतिजा निकाल्न सकेको हो ।’ आगामी वर्ष यस स्कुलबाट २९० जनाले एसईई परीक्षा दिँदैछन् । स्कुलभर १ हजार ६४६ विद्यार्थी छन् ।

 
Top