चितवनको रत्ननगर–१० मा रहेको समृद्धि कन्सलटेन्सी एन्ड ट्रेनिङ सेन्टरले शनिबार एक दिवसीय निःशुल्क रोजगारको खोजी र पूर्वतयारी विषयक कार्यशाला गोष्ठी गरेको छ । विभिन्न विश्वविद्यालयमा स्नातक तह अध्यनरत विद्यार्थीहरुलाई रोजगारी पाउन सहज हुने गरी कार्यक्रम आयोजना गरिएको ट्रेनिङ सेन्टरकी कार्यक्रम व्यवस्थापक समीक्षा अधिकारीले बताइन् । कार्यक्रमको सहजीकरण समृद्धि कन्सल्टिङ एन्ड ट्रेनिङ सेन्टरका संस्थापक चक्रपाणि तिमल्सिना र संस्थाका जीवनवृत्ती विकास विशेषज्ञ बुद्धिबल मगरातीले गरेका थिए ।
सहिद स्मृति बहुमुखी क्याम्पसका उपप्राध्यापक रामहरि भण्डारी अतिथि रहेको तालिममा जीवनमा कसरी सफल हुने ? उद्देश्य प्राप्तिका निमित्त अगाडि बढ्नेलगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा खैरहनी नगरपालिकामा रहेको सुनगाभा कलेज, रत्ननगर नगरपालिकामा रहेको क्वेष्ट मोडल कलेज, रत्ननगर कलेज, सहिद स्मृति बहुमुखी क्याम्पस तथा भरतपुर महानगरपालिमा रहेको प्रेसिडेन्सी कलेज, सप्तगण्डकी क्याम्पस, बालकुमारी कलेजलगायतका शैक्षिक संस्थाहरुबाट बीबीए, बीबीएस, बीएस्सी, बीए पढ्दै रहेका १६ जनाको सहभागिता रहेको थियो ।
