भरतपुर । भरतपुर–११ जागृति चोककी महाकाली कुमालले शहीदचोकमा डोकोमा राखेर सुन्तलालगायतका फलफूल बेच्न थालेको ११ वर्ष पूरा भयो । सुरूसुरूमा त उनले फलफूल बेचेर राम्रो कमाइ गरेकी थिइन् । तर, अहिले उनको व्यवसाय सोचेजस्तो हुन सकेको छैन । स्थानीय रुटका बसहरु भरतपुरको चौबिसकोठीबाट नारायणगढ बजार ओर्लन नपाउँदा महाकालीजस्ता धेरै फुटपाथमा पसल राख्नेहरुको व्यापारमा कमी आएको छ ।


‘पहिला सुन्तलाबाटै परिवार पालेर पनि केही रकम बचाउन सकिन्थ्यो, तर अहिले दुई छोरी र एक छोरा पाल्न पनि धौं–धौं भएको छ’ कुमालले भनिन् । ‘बेलाबेला ट्राफिक र नगरपालिकाले दुःख दिँदा ज्यादै पीडा हुन्छ । हामीलाई डोको राखेर बेच्ने ठाउँ कतै दिइएको छैन । फुटपाथमा नबसे कहाँ बस्ने ?’ उनले प्रश्न गरिन् ।
गोर्खा नारेश्वर–७ की माया पोखरेलले पनि नारायणगढमा डोकोमै फलफूल राखेर बेच्न थालेको ५ वर्ष पूरा भयो । ४५ वर्षीया पोखरेलले पनि पहिलेको तुलनामा व्यापार कम भएको बताउँछिन् । ‘हिजोआज दिनको दुई÷तीन सय रूपैयाँभन्दा बढी भएको छैन’ उनले भनिन्, ‘नगरपालिकाले फोहोर व्यवस्थापनको लागि भन्दै दिनको ३० रूपैयाँ उठाउँछ, तर पनि बेलाबेला दुःख दिन्छ ।’


भरतपुर–४ बेलचोकनजिक बस्ने नवलपरासी भूमहीका प्रकाश भण्डारीले पनि विगत दुई वर्षदेखि डोको र फलफूलसँग साइनो गाँसेका छन् । उनले पनि शहीदचोकको सेरोफेरोमा रहेर फलफूल बेच्दै आएका छन् । स्थानीय रुटका गाडी चौबिसकोठीमै रोकिन थालेपछि उनको पनि फलफूलसँग गाँसिएको साइनो टुट्ने बेला आएको छ । ‘परिवार पाल्नै गाह्रो हुन थालेपछि अरु विकल्प खोजौं खोजौंजस्तो भएको छ’ भण्डारीले भने, ‘हिजोको जस्तो भीड आज नारायणगढमा छैन । सबै व्यवसाय नै संकटमा छन् जस्तो मलाई लाग्छ ।’
त्यस्तै गोर्खा फुजेल घर बताउने कल्पना न्यौपानेले पनि डोकोमा फलफूल बेच्न थालेको १२ वर्ष भयो । उनी इमान्दारीपूर्वक काम गर्दा आफ्नो व्यवसाय कम भएको बताउँछिन् । उनी भन्छिन्, ‘तीन पाउलाई एक किलो भनेर बेच्न आएन, तराजु ढल्काएर पनि बेचिएन । ठगी गर्नेले कमाए । हामीलाई त परिवार पाल्नै गाह्रो भएको छ ।’ उनले ठगी गर्नेहरुबाट जोगिन सबैलाई आग्रह गरिन् ।


भरतपुर–११ गणेशथानकी मीना हमालले पनि शहीदचोकमै डोकोमा सुन्तला राखेर बेच्दै आएकी छन् । उनले पनि पहिलेको जस्तो व्यापार नारायणगढमा नभएको बताइन् । अरुले कति धेरै नियम मिचेर काम गरेका छन् । हामीले सडक छेउमा बस्दा पनि ट्राफिक र नगरपालिकाले किन दुःख दिएको होला ? भनेर हमालले प्रश्न गरिन् । उनले भनिन्, ‘सबैले बाँच्न पाउन प¥यो नि !’

त्यस्तै डोकोमै फलफूल राखेर बेच्दै आएकी विष्णुमाया विकले पनि फलफूल बेचेर परिवार पाल्न ज्यादै गाह्रो हुँदै आएको बताइन् । ४० वर्षीया विकले फलफूलबाटै परिवार त धानेकी छन्, तर पनि उनले आफूलाई परिवार पाल्न ज्यादै मुस्किल भएको बताइन् ।


नगरपालिकाले फुटपाथमा फलफूल बेचेर बस्नेहरुलाई उचित व्यवस्थापन गरेर न्यूनतम जीवननिर्वाह गर्ने वातावरण बनाउनुपर्ने स्थानीय व्यवसायीहरुको धारणा रहेको छ ।
 
Top